चिकित्सा शिक्षा अध्ययनका लागि एक वर्षमा ९७२ जना नेपाली विद्यार्थी बाहिरिए

चिकित्सा शिक्षा शिक्षा अध्ययनका लागि चालु शैक्षिक वर्षमा ९७२ जना नेपाली विद्यार्थी विदेसिएका छन् ।

स्नातक तह अध्ययनका लागि २०७९ मा ७०१ जना, स्नातकोत्तरका लागि २६६ र फेलोसिपका लागि ५ जनाले विदेश जाने अनुमतिपत्र लिएका हुन् । 

त्यसैगरी, २०७७ असोज यता  आयुर्वेद काउन्सिल मार्फत् स्नातकका लागि एक जना र स्नतकोत्तर तहका लागि ७ जनाले अनुमति पाएका छन् । त्यस्तै नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमार्फत् स्नातक तह अध्ययनका लागि २८८ जना र स्नतकोत्तर तहका लागि २४४ जनाले अनुमति लिएका छन् ।

त्यसैगरी, नेपाल मेडिकल काउन्सिलबाट स्नातकका लागि ६९६ जना, स्नतकोत्तरका लागि ४२८ जना र फलोसिपका लागि २७ जनाले अनुमति लिएका छन् । नेपाल नर्सिङ काउन्सिलमार्फत् स्नातकका लागि २८८ र पोष्ट ग्रयाजुएटका लागि ६३ जनाले अनुमति लिएका छन् । त्यसैगरी नेपाल नर्सिङ काउन्सिलमार्फत स्नातकतहका लागि १०३ र स्नातकोत्तरका लागि ३१ जनाले अनुमति लिएकाछन् ।

चालु शैक्षिक सत्रमा विदेशबाट चिकित्सा शिक्षामा स्नातक अध्ययनका लागि ४०६ जना र स्नातकोत्तरका लागि १५ जना विदेशी विद्यार्थी नेपाल आएका छन् ।  स्नातक तह अध्ययनका लागि माल्दिभ्सबाट ३ जना, भारतबाट ३८८, नेपालीमुलका अमेरिकी नागरिक एक जना र श्रीलंकाका ९,  र इन्डोनेसियाबाट ३ जना विद्यार्थी नेपाल आएको चिकित्सा शिक्षा आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

दुई ओटालाई सम्बन्धन, ७० लाई आसयपत्र

 चिकित्सा शिक्षा आयोगले ७० ओटा शैक्षिक संस्थालाई चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि अनुमति दिने प्रक्रिया सुरु गरेको छ । आयोगले काठमाडौंका दुईओटा शैक्षिक संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको छ ।

आयोगले आज  पत्रकार सम्मेलन गरी मनमोहन मेमोरियल इन्स्टिच्युट अफ मेडिकल साइन्स र काठमाडौं मोडेल अस्पताललाई नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको सार्वजनिक गरेको हो ।

कार्यकारी समितिको वैशाख १९ गतेको निर्णयअनुसार आयोगको हिजोको निर्णयले यी दुई संस्थालाई नर्सिङ कक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको हो ।

आयोगले चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि ६० ओटा शैक्षिक संस्थालाई आशयपत्र प्रदान गर्ने निर्णय समेत गरेको छ । आयोगले नर्सिङ, सामान्य चिकित्सा, रेडियोग्राफी, फिजियोथेरापी, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी कार्यक्रम सञ्चालनका लागि आशयपत्रको अनुमोदन गर्ने निर्णय गरेको हो ।

आयोगले चिकित्सा शिक्षा नीति, जनशक्ति प्रक्षेपण र चिकित्सा शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई समेत स्वीकृत गरेको उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए ।

बैठकले ४३ करोड ४२ लाख रुपैयाँको कार्यक्रम तथा बजेटसमेत स्वीकृत गरेको छ ।

Thuprai - Books and E-books