हेटौडाका ९३ विद्यालयले आइईएमआइएस बुझाएन

हेटौंँडा उपमहानगरपालिका भित्र सञ्चालित ९३ विद्यालयले तोकिएको समयभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) नबुझाएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ ।  ६२ सामुदायिक र ३१ निजी विद्यालयले आइईएमआइएस बुझाएका छैनन् ।  

आइईएमआइएस नबुझाएका सम्पूर्ण विद्यालयको कार्यक्रम रोकिने, शिक्षकको तलब, आठ कक्षाको परीक्षा रोकिनाका साथै विद्यालयको संरचना तथा पूर्वाधार विकासमा समेत बाधा पुग्ने  भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बारम्बार सूच्ना जारी गरे पनि उक्त विद्यालयले अझै विवरण अद्यावधिक नगराएको शैक्षिक महाशाखा हेटौंँडाले जानकारी दियो । 

सामुदायिक विद्यालयसँग प्रस्ताव माग

कूल ७६ वटा सामुदायिक विद्यालय रहेको  उपमहानगरपालिकाले स्वीकृत  वार्षिक कार्यक्रमअन्तर्गत  विभिन्न  कार्यक्रमका लागि सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न सूचना जारी गरेको जनाएको छ । सो उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विभिन्न मितिमा सूचना प्रकाशित गरी कार्यक्रम आवश्यक भएका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरेको बताइएको छ ।    

सङ्घीय सरकारको २० लाख बजेट अनुदानबाट स्वीकृत  वार्षिक कार्यक्रम सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरिएको महाशाखाका प्रमुख गङ्गाधर रिमालले जानकारी दिए ।

माविमा स्मार्ट बोर्ड र प्रोजेक्टमा आधारित सिकाइ, आधारभूत विद्यालयमा कम्तीमा एक कम्प्युटर, एक ल्यापटप र प्रिन्टर, नमूना वाल विकास कार्यक्रमका लागि सामग्री सहयोग, विद्यालयहरुमा युरोगार्ड जडान र गणित विषयको  प्रयोगशाला निमार्णका लागि प्रस्ताव  माग गरिएको बताइएको छ ।

विद्यालयहरुबाट  प्राप्त भएका प्रस्तावहरुको मूल्याङ्कन  गरेर आवश्यकता र औचित्यका आधारमा  विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिने प्रमुख रिमालले बताउनुभयो सो कार्यक्रमका लागि इएमआइएस अपडेट, विद्यार्थी सङ्ख्या र सामाजिक परीक्षण जस्ता  विभिन्न आधारमा विद्यालयको मूल्याङ्कन हुने बताइएको छ ।