
पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा आज कुल ६,६२२ विद्यार्थी दीक्षित भएका छन्।
विश्वविद्यालयका अनुसार दीक्षित विद्यार्थीमध्ये सबैभन्दा बढी ३,६२५ जना व्यवस्थापन संकायका छन्। त्यसैगरी विज्ञान तथा प्रविधि संकायबाट २,५०६ जना, स्वास्थ्य विज्ञान संकायबाट ३६५ जना र मानविकी तथा सामाजिक विज्ञान संकायबाट १२६ जना विद्यार्थी दीक्षित भएका हुन्।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले उच्च शिक्षालाई व्यवहारिक सीप, नवप्रवर्तन र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन्। उनले विश्वविद्यालयहरूले समसामयिक समाजको आवश्यकता अनुसार दक्ष, उद्यमशील र नैतिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताइन्।
प्रधानमन्त्रीले स्नातक पूरा गरेलगत्तै ठूलो संख्यामा युवा विदेश जाने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै प्रविधि, अनुसन्धान र उद्यमशीलतामा आधारित पाठ्यक्रम विकास गर्न विश्वविद्यालयहरूलाई आग्रह गरिन्।
व्यवस्थापन, विज्ञान, प्रविधि र स्वास्थ्यजस्ता क्षेत्रमा उच्च शिक्षा विस्तार गर्दै आएको पोखरा विश्वविद्यालयबाट यस वर्ष दीक्षित भएको ठूलो सङ्ख्याले विश्वविद्यालयको शैक्षिक पहुँच र मानव संसाधन विकासमा यसको भूमिकालाई स्पष्ट रूपमा देखाएको छ।




