Bachelors Portal

इन्जिनियरको नाम दर्ता परीक्षाका लागि ६०२३ जनाको आवेदन

नेपाल इन्जिनियरिङ काउन्सिलमा नाम दर्ता परीक्षामा आवेदन दिनेको संख्या ६ हजार २३ पुगेको छ । काउन्सिलले साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता परीक्षाका लागि भदौ ७ गते सूचना आव्हान गरेको थियो ।

काउन्सिलले पहिलो पटक सूचना आव्हान गरी असोज २ गते नियमित शुल्कमा र ९ गते सम्म दोब्बर दस्तुरमा आवेदन माग गरेको थियो । काउन्सिलले दोस्रो पटक सूचना जारी गरी आवेदन दिने म्याद असोज २३ गतेसम्म तोकेको थियो ।

नाम दर्ता परीक्षाको मिति भने काउन्सिलले पछि तय गर्ने परिषद्का रजिष्ट्रार शिवमङ्गल गिरीले  जानकारी दिए ।

काउन्सिलले अब सञ्चालन गर्ने  नाम दर्ता परीक्षाको  तेस्रो संस्करण हो ।

काउन्सिलले गत असार ६, ७ र ८ मा लिएको  दोस्रो चरणको  लाइसेन्स परीक्षामा ६६ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका थिए । काउन्सिलले लिएको दोस्रो चरणको लाइसेन्स परीक्षामा सामेल भएका २४ हजार ७७४ उम्मेदवारमध्ये ८०१ जना मात्र उत्तीर्ण भएका थिए।

परीक्षामा जम्मा २५ हजार ६६८ जनाले आवेदन दिएका थिए भने ९४ परीक्षार्थी अनुपस्थित रहेको काउन्सिललका अध्यक्ष पद्मबहादुर शाहीले जानकारी दिए ।

यसअघि चैतमा लिएको लाइसेन्स परीक्षामा ७२ प्रतिशत परीक्षार्थी अनुत्रीर्ण भएका थिए । त्यसबेला परीक्षामा सहभागी १९ हजार ८८१ परीक्षार्थीमध्ये ५ सय ६५ जना उत्तीर्ण भएका थिए ।

लाइसेन्स परीक्षाका लागि २०० पूर्णाङ्कमा ५० अंक ल्याउनै पर्ने प्रावधान छ।

सो परीक्षामा सिभिल इन्जिनियरिङ विषयका विद्यार्थी सबैभन्दा बढी सहभागी भएको अध्यक्ष शाहीले बताए । अध्यक्ष शाहीले फेल भएका अधिकांश विद्यार्थी विदेशमा अध्ययन गरेको जानकारी दिए । नतिजाअनुसार स्वदेशका ६ विश्वविद्यालयमध्ये मध्यपश्चिम, सुदूरपश्चिम, पुर्वाञ्चल र पोखरा विश्वविद्यालयको अवस्था कमजोर देखिएको छ भने त्रिवि र काठमाडौं विश्वविद्यालयमा अध्ययन गरेकाहरुको उत्तिर्ण दर बढी छ । भारतलगायत विदेशमा पढेर आएका ४ सय ४ जनामध्ये ४१ जना अर्थात् १० प्रतिशतमात्र पास भएका छन् । उनले भने, ‘यस परीक्षामा सोधिएका सबै प्रश्नहरू इन्जिनियरिङको प्रथमदेखि चौथो वर्षसम्मका हुन्। विदेशमा अध्ययन गरेकाहरूका लागि यो चुनौतीपूर्ण हुनसक्छ।  नेपाली विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि भारत, चीन, कोरिया, जापान, रुस, बंगलादेशलगायत मुलुकमा जाने गरेका छन् ।’

नेपालमा इन्जिनियरका रूपमा काम गर्न काउन्सिलमा दर्ता र लाइसेन्स लिनु  पर्ने प्रँवधान रहेको छ। इन्जिनियरिङ स्नातकको गुणस्तरमा प्रश्न उठेपछि काउन्सिलले गत वर्षको असोजमा ऐनमा संशोधन गरी लाइसेन्स परीक्षा अनिवार्य गरेको थियो । यसअघि परिषद्ले परीक्षा उत्तीर्ण गरी इन्जिनियर दर्ता प्रमाणपत्र दिने गरेको थियो ।

अध्यक्ष शाहीका अनुसार हालसम्म नेपालमा ७८ हजार ८०० इञ्जिनियरले लाइसेन्स लिएका छन् ।

Thuprai - Books and E-books