पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा ५० सिट थप (सूचना सहित)

शैक्षिक सत्र २०८१–०८२ देखि कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा सिट संख्या थप गरिएको छ ।

यस अघि ५० सिट निर्धारण गरी अध्यापन गर्दै आएको विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि सय सिटमा अध्यापन गर्ने भएको हो ।

नेपाल भेटेरिनरी काउन्सिलबाट थप ५० सिटका लागि अस्थायी मान्यता लिएर विद्यार्थी भर्नाका लागि सूचना प्रकाशन गरिएको सो संकायका डीन प्राडा होमबहादुर बस्नेतले जानकारी दिए ।

संकायले कात्तिक १३ गते मंसिर १३ गतेसम्म भर्नाका लागि आवेदन माग गरेको डीन बस्नेतले बताए।

विश्वविद्यालयले साविक ५० कोटामा मेरिटका आधारमा २०, प्रादेशिक ७, छात्रा २, दलित १, आदिवासी जनजाति १, मधेशी १, द्वन्द्वपीडित र शहीद परिवार १ अपाङ्ग १, स्टार्फकोटा पूर्ण छात्रवृत्तिमा १, स्टाफ कोठा सहुलियत शुल्कमा १, स्थानीय कोटा २ सहित शुल्क लिएर १४ जना १४ जना विद्यार्थी भर्ना लिदै आएको थियो ।

विश्वविद्यालय विकास कोष कोटाअन्तर्गत अध्ययन गर्ने १४ विद्यार्थीले ५ वर्षको ६ लाख रुपियाँ शुल्क तिर्नुपर्छ भने थप गरिएका ५० कोटामा अध्ययन गर्ने विद्यार्थीले ५ वर्षे कोर्षको १२ लाख रुपियाँ रकम बुझाउनुपर्ने डीन कार्यालयले जानकारी दियो ।

नेपाल भेटेरेनरी काउन्सिलका रजिष्ट्रार डा. रामकुमार मण्डलले त्रिवि, एएफएयू तथा पूर्वाञ्चल विश्वविद्यालयका निजी कलेजहरुको अनुगमन पछि न्यूनत्तम मापदण्ड पूरा गरेका कलेजहरुलाई भर्ना आब्हानका लागि अनुमति प्रदान गरिएको जानकारी दिए ।

काउन्सिलले मान्यता दिएका साविक ५० कोटाको विद्यार्थी भर्ना गरेपछि मात्रै थपिएको ५० कोटामा भर्ना गरिने डीन कार्यालयले जानकारी दियो । सोही संकायले मत्स्य विज्ञानका २१ सिटमा विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ ।

मत्स्य विज्ञान अध्ययन गर्ने विद्यार्थीले ३ लाख १० हजार बुझाउनुपर्छ । विश्वविद्यालय कायममुकायम उपकुलपति तथा रजिष्ट्रार प्राडा शारदा थपलियाले पशु विज्ञान, पशु चिकित्सा पढ्न खोज्ने विद्यार्थीको संख्या धेरै हुने तर कोटा कम हुँदा पर्याप्त जनशक्ति उत्पादन गर्न नसकिएको पृष्ठभूमिमा लामो समयको प्रयास पछि ५० जनाको कोटा थप गर्न सफल भएको बताइन् ।

त्रिभुवन विश्वविद्यालयले ५० कोटामा कपिलबस्तुको पक्लिहवामा, पूर्वाञ्चल विश्वविद्यालयले हिकाष्ट काठमाडौं र पोलिटेक्निक कलेज चितवनले ५०–५० सिटमा भेटेरीनरी पढाउँदै आएका छन् ।

सूचना