दमौली, २४ वैशाख (रासस) : विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण प्राथमिक विद्यालय समायोजन गरिएको हो ।
ती विद्यालयलाई नजिकको अन्य विद्यालयमा समायोजन गरिएको व्यास नगरपालिका शिक्षा शाखाका अधिकृत रामेश्वर लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार छाब्दीबाराहीलाई केशवटार माध्यमिक विद्यालयमा, भवानीलाई महेन्द्रज्योति माध्यमिक विद्यालयमा र अन्य विद्यालयलाई नजिकको बाल विकास केन्द्रमा समायोजन गरिएको छ ।
उहाँले भन्नुभयो, “विद्यालयमा १० भन्दा कम विद्यार्थी रहेका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको हो ।” नगरपालिकाको नगर शिक्षा नियमावली र विद्यालय व्यवस्थापन समितिको सहमतिमा विद्यालय समायोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
व्यास नगर शिक्षा ऐन, २०७५ को परिच्छेद २ मा तोकिएको पूर्वाधार पूरा नभएको, अधिकांश कक्षामा १० भन्दा कम विद्यार्थी सङ्ख्या भएको, दुई वा सोभन्दा बढी विद्यालयको परिसर एकापसमा जोडिएको, दुई वा सोभन्दा बढी विद्यालयबीचको पैदलदूरी ३० मिनेटभन्दा कम रहेको र दुई वा सोभन्दा बढी विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्न संयुक्त निवेदन दिएको खण्डमा विद्यालय समायोजन गर्न सक्ने प्रावधान छ ।