चैत यता ३१९ बालबालिकाले गरे आत्महत्या

नेपालमा पहिलेदेखि नै आत्महत्याको दर निकै बढी भएकोमा कोभिड–१९ को महामारीले अवस्थालाई अझ खराब बनाएको छ । गत चैतदेखि हालसम्म अनिश्चितताको कारण भावनात्मक तथा मानसिक अस्वस्थता एवं आघात र विविध क्षतिहरूका कारणले गर्दा ३१९ जना बालबालिका र ८७६ जना महिलासहित एक हजार ३५० जनाले आत्महत्या गरेको युनिसेफले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार गत वर्षको तुलनामा यस वर्षको चार महिना लामो बन्दाबन्दीको समयमा आत्महत्या गर्ने किशोरीहरूको सङ्ख्या अघिल्ला महिनाहरूको तुलनामा ४० प्रतिशतले वृद्वि भएको छ भने आत्महत्या गर्ने किशोरहरूको सङ्ख्यामा पनि केही वृद्वि भएको छ । यी सङ्ख्यामा प्रहरीको अभिलेखमा रहेका आत्महत्याहरू मात्रै समावेश छन् । यसमा अभिलेखमा नरहेका घटना, आत्महत्याका प्रयास वा आत्महत्या गर्ने सोच बनाएका मानिसलाई समेटिएका छैनन् । हरेक आत्महत्याले उनीहरूको नजिकका मानिसहरूमा गहिरो शोक छोड्ने गर्दछ । 

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा युनिसेफले नेपालका बालबालिका तथा युवाको मानसिक स्वास्थ्यका सवालमा रोकथाम, थेरापी, उपचार तथा पुनर्स्थापनामा योगदान गर्दै यसलाई पनि मुलधारको स्वास्थ्य सेवाको एउटा महत्वपूर्ण हिस्साको रूपमा सुनिश्चित गर्ने कार्यमा सहयोग पुर्‍याउन सरकार तथा विकास साझेदार, नागरिक समाज, समुदाय र परिवारलाई आग्रह गरेको छ । 

नेपालमा बसोबास गर्ने थुप्रै परिवारहरूका लागि कोभिड–१९ को सामना गर्नु भनेको यसको सङ्क्रमणबाट बच्नका लागि भौतिक दूरी कायम गर्नु, मास्क लगाउनु र हात धुनु मात्रै होइन । यसको अर्थ महामारीले निम्त्याउने अनिश्चितता र जीवनयापनका चिन्ताहरूसँग जुध्नु र भविष्यका लागि आशाहरू सिर्जना गर्न सङ्घर्ष गर्नु पनि हो ।

युनिसेफले बालबालिका तथा परिवारको सम्बन्धमा जुलाइमा गरेको एक सर्वेक्षणका अनुसार ४९ प्रतिशत परिवारहरूले विशेष गरी बन्दाबन्दीको बेलामा आफ्ना बालबालिकाका आवश्यकता पूरा गर्न सकिन्छ या सकिन्न भन्ने विषयमा तनाव बढेको बनाएका थिए । युवामा आत्महत्याको सङ्ख्या बढिरहँदा कल सेन्टरहरूमा  आत्महत्याका विषयमा सहयोगको माग गर्ने व्यक्तिहरू थोरै थिए । युवाका लागि सहायता सेवाहरू विस्तार गर्नुका साथै मानसिक स्वास्थ्यको विषयमा रहेका सामाजिक दोषारोपण र लान्छनाको सम्बोधन गर्नु पनि महत्वपूर्ण छ ।

कोभिड–१९ को महामारीका कारण लागु गरिएको कडाइले बालबालिकाको पठनपाठन, मनोरन्जनात्मक क्रियाकलापलगायतमा अवरोध आउनुले उनीहरूको साथी, सहपाठी, शिक्षक तथा परिवारसँगको सम्पर्क पनि पातलिएको छ र यसले उनीहरूलाइ निकै असर गरेको छ । अरूहरूका लागि यो कडाइले परिवार र समुदायमा हिंसा र शोषणको जोखिम बढाएको छ । सबैजनाको दैनिक जीवन, सम्बन्धहरू, स्रोत साधन तथा सेवासम्मको पहुँचमा पनि यसले महत्वपूर्ण परिवर्तन ल्याइदिएको छ ।   

“मानसिक अस्वस्थताका धेरै लक्षणह १४ वर्षको उमेरभन्दा अगाडिदेखि नै सुरू हुन्छ र अहिले आत्महत्या नेपाली युवाको मृत्युको प्रमुख कारणमध्ये पर्दछ” नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विसले भने ।   

“हामी कोभिड–१९सँग जुध्ने क्रममा, बालबालिकाको जीवन सुरक्षित बनाउन र परिवारहरूलाई यो जटिल परिस्थितिको सामना गर्नका लागि चाहिने स्वास्थ्य सेवा र सामाजिक तथा आर्थिक सहयोग उपलब्ध गराउने विषयमा विशेष ख्याल गर्नुपर्दछ । सामाजिक चेतना र मनोसामाजिक तनावको बारेमा बुझाइमा सुधार गर्दै एकीकृत मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवाहरू उपलब्ध गराउनको लागि हामीले सामूहिकरूपमा काम गर्नुपर्दछ । कमजोर मानसिक स्वास्थ्य भएका थुप्रै बालबालिका र उनीहरूका परिवारहरूको लागि हामीले समयमै सहायता गर्न सकेनौं भने देशले नै यसको मूल्य चुकाउनुपर्ने देखिन्छ” उनले थपे । 

गत फागुनदेखि युनिसेफले टेलिफोन र अनलाईनमार्फत परामर्श सेवा उपलब्ध गराउनुका साथै समुदायमा आधारित मनोसामाजिक परामर्शदातालाई परिचालन गर्नका लागि साझेदारहरूलाई सहायता गरेको छ ।  एक्लिएर बस्नु पर्ने अवस्था भोगेका, सामाजिक तनाव र आर्थिक कठिनाइहरूसँग जुधिरहेका पुरूष, महिला तथा बालबालिकालाई मनोसामाजिक परामर्श उपलब्ध गराउने कार्यमा विभिन्न संस्थाहरूसँग सहकार्य गरिएको छ । युनिसेफले बालबालिका र किशोरकिशोरीका लागि उमेर सुहाउँदो मानसिक स्वास्थ्य सेवाहरू उपलब्ध भएको सुनिश्चित गर्नका लागि कान्ति बालअस्पतालको मानसिक स्वास्थ्य कार्यक्रमसँग पनि सहकार्य गरेको छ ।