Bachelors Portal

प्राविधिक शिक्षाका लागि डेढ करोड सङ्कलन

कास्की, ३ फागुन (रासस) ः कास्कीको  माछापुच्छ्रे –२ सार्दीखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ रु डेढ करोड सहयोग सङ्कलन गरिएको छ । 

विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म करीब रु एक करोड ५३ लाख जम्मा भएको विद्यालयका लेखापाल उमनाथ गौतमले बताउनुभयो। 
विद्यालयले यही फागुन १० देखि १२ गतेसम्म तीन दिन स्वर्ण महोत्सव मनाउँदैछ । गाउँपालिका, संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ÷ सार्दीखोला, वन व्यवस्थापन समिति साविक वडा नं १ लगायत सङ्घसंस्था तथा व्यक्तिबाट स्वेच्छिक रकम सङ्कलन गरिएको उहाँले बताउनुभयो । 

विद्यालयले रु एक करोड ७० लाख सङ्कलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकम प्राविधिक शिक्षा सञ्चालनमा उपयोग गर्ने योजना बनाएको लेखापाल गौतमको भनाइ छ । 

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ६३० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरेपनि रोजगारमूलक शिक्षाको लागि प्राविधिक विषयको पठनपाठन शुरु गर्ने योजना विद्यालयले बताएको छ । 

सिटिइभिटीएअन्तर्गत डिप्लोमा तहका प्राविधिक विषयका कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको प्रधानाध्यापक सन्तोष आचार्यले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कक्षा १२ पास भएका विद्यार्थी पनि लामो समय बेरोजगार भएर भौंतारिएका छन् । अब सीप सिकेर आफैँले आर्यआर्जन गर्नसक्ने रोजगारमूलक शिक्षा अध्यापन गर्दछौँ’ रोजगारमूलक शिक्षा समयको माग भएको र मागअनुसारका जनशक्ति उत्पादन गर्ने सोच विद्यालयले राखेको उहाँले बताउनुभयो । 

‘प्राविधिक शिक्षा सञ्चालन गर्ने हाम्रो उद्देश्य हो । के विषय पठनपाठन गर्दा उपयुक्त हुन्छ । सबैको सल्लाह राय सुझावसहित अघि बढ्छौँ । ’ आचार्यले भन्नुभयो । विद्यालयले सकभर छिमेकी वडामा नभएको र छिट्टै रोजगारी प्राप्त गर्ने विषयका कक्षा सञ्चालन गर्ने बताएको छ । 

स्वर्णमहोत्सवको अवसरमा विद्यालयले गाउँपालिका तथा वडास्तरीय हाजिरी जवाफ, भलिबल तथा लोक दोहोरीलगायतका प्रतियोगिता सम्पन्न गरेको विद्यालयले जनाएको छ । स्वर्णमहोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइन्छ । 

Thuprai - Books and E-books