मेडिकल कलेजसंग १६ अर्ब सम्पत्ति, अतिरिक्त शुल्क फिर्ता सकस

देशभर रहेका मेडिकल केलेजहरूको सम्पत्ति १६ अर्व रूपियाँ बढी रहेको पाइएको छ । जसमध्ये यूनिभर्सल मेडिकल कलेजको एक अर्व ६७ करोड २८ लाख ९४ हजार ६ सय ५७ रुपियाँ, मणिपाल मेडिकल कलेजको १ अर्व ६५ करोड ३६ लाख १ हजार ९ सय ३३ रुपियाँ, काठमाडौं मेडिकल कलेजको १ अर्व ४२ करोड ५४ लाख ७४ हजार २१४ रुपियाँ, नोवेल मेडिकल कलेजको एक अर्व ३१ करोड ४४ लाख ५५ हजार ४५१ रुपियाँ सम्पत्ति रहेको पाइएको छ ।

यसैगरी, कलेज अफ मेडिकल साइन्सेज भरतपुरको १ अर्व ६७ करोड २८ लाख ९४ हजार ६५७ रुपियाँ  सम्पत्ति रहेको पाइएको छ । यस्तै, लुम्विनी मेडिकल कलेजको १ अर्व ३१ करोड ७३ लाख ३३ हजार चार सय ४७ रुपियाँ, विराट मेडिकल कलेजको १ अर्व २६ करोड २९ लाख २ हजार २१२ रुपियाँ सम्पत्ति रहेको देखिन्छ ।

नेपाल मेडिकल कलेज काठमाडौंको ६१ करोड ८२ लाख २५ हजार चार सय २० रुपियाँ, चितवन मेडिकल कलेजको ८९ करोड २३ लाख २० हजार एक सय ४० रुपियाँ र किस्ट मेडिकल कलेजको ८० करोड ९१ लाख ११ हजार चार सय १२ रुपियाँ सम्पत्ति रहेको इडियुपत्रले तथ्याङ्क फेला पारेको छ ।

त्यस्तै नेसनल मेडिकल कलेजको ५३ करोड ४५ लाख ९४ हजार ९६५ रुपियाँ सम्पत्ति रहेको पाइएको छ । स्रोतका अनुसार  नेपालगञ्ज मेडिकल कलेजको ४८ करोड १० लाख १० हजार ११३ रुपियाँ सम्पत्ति आर्जन गरेको देखिन्छ ।

त्यस्तै, जानकी मेडिकल कलेजसंग ६७ करोड ५१ लाख ४१ हजार एक सय १३ रुपियाँ रहेको स्रोतले जानकारी दियो । पिपुल्स डेन्टल कलेजकोे ३३ करोड ३५ लाख ५२ हजार ३००, कान्तिपुर डेन्टल कलेजको ३१ करोड ८९ लाख ३६ हजार चार सय ७१ रुपियाँ सम्पत्ति रहेको देखिन्छ । 

मेडिकल कलेजहरूसंग प्रशस्त सम्पत्ति भएपनि अतिरिक्त शुल्क उठाउन भने छाडेका छैनन् । कलेजहरूले विभिन्न शीर्षक बनाएर विद्यार्थीहरू संग तोकिए भन्दा बढी अतिरिक्त शुल्क माग गर्दै आएको अभिभावकहरूको गुनासो छ । कलेजहरूले सरकारसंग अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति गरे पनि अहिलेसम्म कुनै कलेजले शुल्क फिर्ता गरेका छैनन् ।

कलेजहरूले शिक्षण शुल्कभित्रै समावेश इन्टर्नसिप, विश्वविद्यालयको रजिस्ट्रेसन, परीक्षालगायतका शीर्षकमा अतिरिक्त शुल्क माग गर्दै आएका छन् ।चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७६-७७ का लागि एमबीबीएसका लागि उपत्यकामा ४० लाख २३ हजार २५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रू पियाँ निर्धारण गरेको छ  ।

त्यस्तै, बीडीएसका लागि २० लाख १९ हजार ५८० रूपियाँ निर्धारण गरेको भए पनि कलेजले विभिन्न शीर्षकमा यो भन्दा बढी शुल्क लिँदै आएको पाइएको छ ।

काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको काठमाडौं मेडिकल कलेजले विद्यार्थीहरूबाट विभिन्न शीर्षकमा अतिरिक्त शुल्क माग गरेको चिकित्सा शिक्षाका अभियन्ता एवम् एमबीबीएस अध्ययनरत छात्र सुजन कडरीयाले वताए । काठमाडौं मेडिकल कलेजले होस्टेल फि, सेक्युरेटी डिपोजिट र इन्टर्नसिप फि भनेर अभिभावकसंग ५ लाख रूपियाँ अतिरिक्त  शुल्क माग गरेछ ।’

उनले भने, ‘अधिकांश अभिभावकहरू कलेजले बढी अतिरिक्त शुल्क मागेको गुनासो गर्छन् ।’ अधिकांश अभिभावकहरू  भने सुरूमा निर्धारण गरेको शुल्क भन्दा कलेजले बढी शुल्क माग गरेपछि आफ्ना छोराछोरीलाई बिचैमा छोड्न लगाउने हो कि सर्वश्व सकेर पढाउने चिन्तामा पर्न थालेका छन् ।

काठमाडौं मेडिकल कलेजमा आफ्ना छोरालाई  पढाइ रहेका  एक अभिभावकले भने,  ‘कलेजले शुल्क भन्दा ६ लाख रूपियाँ बढी माग्यो मैले कलेजलाई  दिन्न भने ।’

सरकार र मेडिकल कलेज सञ्चालकबिच  अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएपनि आजसम्म सो  सहमति लागु हुन सकेको छैन । उक्त  सहमतिमा डिपोजिट शुल्क र इन्टर्नसिप शुल्क लगायतका शीर्षकमा अतिरिक्त शुल्क लिन नपाइने प्रावधान  भएपनि मेडिकल कलेजले अझै यी शीर्षकमा शुल्क माग्दै आएका छन् ।

कलेजले अध्ययन अवधिभर लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्क मात्र लिन पाउने राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा व्यवस्था छ । 

विश्वविद्यालयबाट काउन्सिलिङ गरी बैंकिङ प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया थालनी गरिएको शैक्षिक सत्र २०७४-७५ र २०७५-७६ मा नेपाल सरकारद्वारा निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले बढी शुल्क फिर्ता या समायोजनको कार्य थालनी गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रूपियाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको थियो ।

छानबिनका क्रममा मेडिकल कलेजहरूले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रूपियाँँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको थियो । आयोगले निर्धारण गरिएको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ ।

 

Thuprai - Books and E-books