७ विश्वविद्यालय अस्तव्यस्तः कुनैमा तालाबन्दी, कुनै पदाधिकारीविहीन

पूर्वाञ्चल विश्वविद्यालयले शनिबार आफ्नै परिसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा चार–चारवटा ताला झुन्डिरहेका थिए । ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् । यो विश्वविद्यालय चार महिनादेखि उपकुलपतिविहीन हुँदा कामचलाउको भरमा छ । 

तर, कार्यक्रमका प्रमुख अतिथिलगायतले उपकुलपतिविहीनता र तालाबन्दीबारे केही उल्लेख नगरी आफ्नो ‘प्रवचन’ मात्रै सुनाए । नेपाल विद्यार्थी संघले पाँच सूत्रीय मागसहितको विज्ञप्ति टाँसेर गत असार ९ मा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएको थियो ।

त्यसै दिन पुसेटका विद्यार्थीले अर्को ताला लगाए । ती दुई तालालाई चुनौती दिन असार २० मा अनेरास्ववियु, अखिल क्रान्तिकारी र संघीय विद्यार्थी फोरमले संयुक्त रूपमा अर्को ताला लगाए । ती तीन ताला नखुल्दै नेपाल विद्यार्थी संघले भदौ ८ मा फेरि अर्को ताला लगायो ।

तीनै समूहले विश्वविद्यालय सेवा आयोगका अध्यक्षको कार्यकक्षमा पनि भदौ पहिलो साता लगाएको ताला अझै खुलेको छैन । तालाबन्दीका बेला घनश्यामलाल दास उपकुलपति थिए । ताला खुलाउन पहलै नगरी उनको कार्यकाल भदौ ६ मा सकियो । त्यसपछि सरकारले व्यवस्थापन संकायका डिन बिजुकुमार थपलियालाई कामचलाउ उपकुलपति तोक्यो । उनी अहिलेसम्म कार्यकक्षमा छिर्न पाएका छैनन् । रजिस्ट्रार प्रमिला थापा पनि ६ महिनादेखि बाहिरै बसेर काम गरिरहेकी छन् ।

विश्वविद्यालयका प्रमुख दुई पदाधिकारीको कार्यकक्षमा लगाइएका ताला खुलाउन कसैले पहल गरेको छैन । कामु उपकुलपति थपलियालाई तालाबन्दी गर्ने पक्षले टेर्दै टेरेनन् । तालाबन्दी गर्ने विद्यार्थी संगठनहरूलाई पटक–पटक सम्झाउँदा पनि पार नलागेको उनले बताए । तालाबन्दीकै कारण विश्वविद्यालयको दैनिक कार्य सञ्चालनमै समस्या भएको उनको गुनासो छ ।

पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्य रिक्त छ । कृषि तथा वन विज्ञान, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छन् ।

                                          यो खवर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

Thuprai - Books and E-books