CMAT

तिलगङ्गा आँखा प्रतिष्ठानलाई डब्लुएचओ समन्वय केन्द्र मान्यता

नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ ।

तिलगंगा आँखा प्रतिष्ठानाको २५ औं वार्षिकोत्सवको अवसरमा सोमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेल, उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलगायत । तस्वीर: रत्न श्रेष्ठ ।


आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था भएको छ । भक्तपुरस्थित सार्क क्षयरोग केन्द्रले सो सङ्गठनबाट समन्वय केन्द्रको मान्यता पाएको छ । आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले राष्ट्रिय एवम् अन्तरराष्ट्रियरूपमा महत्वपूर्ण काम गरेवापत सङ्गठनले यहाँ आज आयोजित कार्यक्रममा प्रतिष्ठानलाई प्रमाणपत्र प्रदान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा डब्लुएचओका देशीय प्रतिनिधि डा जोस भ्यान्डेलारले प्रतिष्ठानका कार्यकारी अधिकृत प्रा डा रीता गुरुङलाई सो प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सङ्गठनले हालसम्म ८० देशका ८०० केन्द्रलाई समन्वय केन्द्रको मान्यता दिएको छ । समन्वय केन्द्रको प्रमाणपत्र पाएसँगै प्रतिष्ठानका आँखा उपचार सेवा, शिक्षा, तालीम, उत्पादन तथा जनशक्तिले अन्तरराष्ट्रिय मान्यता पाएको छ ।

सन् १९९४ मा स्थापित प्रतिष्ठानले हालसम्म ६११ नेत्ररोग विशेषज्ञ, ७३२ आँखा स्वास्थ्यकर्मी, १० हजार ३०५ सामुदायिक स्वास्थ्य कार्यकर्ता र छ हजार ९१६ चिकित्सा क्षेत्रका विद्यार्थीलाई तालीम प्रदान गरेको छ ।

यसैगरी आँखा स्वास्थ्यको अनुसन्धानमा प्रतिष्ठान अग्रस्थानमा रहेको छ । प्रतिष्ठानले हालसम्म २१० योजनामा सफल अनुसन्धान गरी १८३ शोध लेख प्रकाशन गरेको छ । त्यस्तै मोतियाविन्दु शल्यक्रियामा हालसम्मको नवीनतम प्रविधि फिमटोसेकोण्ड लेजर एसाइसटेड क्याक्टर सर्जरी सेवा शुरु गर्न लागिएको छ ।

हालसम्म प्रतिष्ठानले ६० लाखभन्दा बढी आँखा उपचार सेवा र चार लाखभन्दा बढीको अत्याधुनिक प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया गरी ज्योति प्रदान गरेको छ । अर्कातर्फ भारत, बङ्गलादेश, पाकिस्तान, भुटान, चीन, म्यान्मा, इण्डोनेसिया, मलेसिया, दक्षिण कोरिया, थाइल्याण्ड, अर्जेन्टिना, इथियोपिया र घानाका नेत्र चिकित्सक प्रतिष्ठानमा आई मोतियाविन्दु चिकित्सा विधिका बारेमा ज्ञान लिएका छन् ।

यसैगरी १७ सामुदायिक आँखा केन्द्रमार्फत सेवा, आँखा बंैकमा १० हजारभन्दा बढी आँखाको नानी सङ्कलन, ८५ हजारभन्दा बढी व्यक्तिको आँखाको नानी दान गर्ने इच्छापत्र हस्तान्तरण तथा ५० लाखभन्दा बढी लेन्स उत्पादन गरी ७० देशमा वितरण गरिँदै आएको प्रतिष्ठानले जनाएको छ ।

नेपालका लागि उपलब्धि हो: प्रम

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको उन्नयनका लागि आगामी दिनमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “छोटो अवधिमा नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धान अन्तरराष्ट्रियस्तरमा पु¥याउन प्रतिष्ठानको योगदान महत्वपूर्ण रहेको छ । यी क्षेत्रमा नेपालले ऐतिहासिक फड्को मारेको छ । नेपालका लागि यो ठूलो उपलब्धि हो ।”

प्रधानमन्त्री ओलीले सबैमा आँखाको ज्योति भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको प्रमुख ध्येय पूरा हुन्छ भन्दै ज्योति गुमाउन नदिन प्रतिष्ठानको सेवा आगामी दिनमा अझ कुनाकाप्चामा पुग्न जरुरी रहेकामा जोड दिनुभयो ।

अन्धोपन हटाउन प्रतिष्ठानले गरेको सेवाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यति छोटो समयमा प्रतिष्ठानले यत्रो सफलता प्राप्त गर्छ भनेर कसैले सोचेकै थिएन । यो भवन अगाडिको बाटो कति आवतजावत गरियो ।” सो अवसरमा प्रतिष्ठानका प्रमुख प्रा डा सन्दुक रुइतलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
सो अवसरमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सबै जनतालाई आँखा उपचार सेवाको पहुँच पु¥याउन २० वर्षे रणनीति तयार गरी कार्यान्वयन गरिएको जानकारी दिनुभयो । उहाँले आँखा उपचार सेवा सबै जिल्लामा पुगेको, अन्धोपन उल्लेखनीयरूपमा कम हुँदै गएको र आँखा उपचारका विशेषज्ञ चिकित्सक उत्पादन गर्न मन्त्रालयले प्राथमिता दिएको जानकारी दिनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा रुइत र कार्यकारी अधिकृत डा गुरुङले समुदायस्तरमा आँखा उपचार सेवा, शिक्षा, अनुसन्धान तथा आवश्यक जनशक्ति उत्पादनमा प्रतिष्ठानले आफ्नो कार्य केन्द्रित गर्दै आएको जानकारी दिनुभयो । उहाँहरूले आँखाको नानी र पर्दा, जलविन्दु, युभिआटिस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बाल आँखा, आँखाको अर्बुदरोगजस्ता सेवा प्रतिष्ठानले प्रदान गरिरहेको तथा अन्धोपन निवारणमा सरकारलाई सहयोग गरेको बताउनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा सोमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका संस्थापक एवम् कार्यकारी निर्देशक प्राडा सन्दुक रुइत । तस्वीर: रत्न श्रेष्ठ ।


सो अवसरमा डब्लुएचओका देशीय प्रतिनिधि डा भ्यान्डेलारले प्रतिष्ठानले आँखा स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानका क्षेत्रमा नयाँ सफलता प्राप्त गरेको बताउनुभयो । द फ्रेड हजोज फाउण्डेशनका कार्यकारी निर्देशक जोन विसअर्ट र हिमालय क्याटर्याक्टका निर्देशक डा जोफ टाविनले आँखा स्वास्थ्य सेवामा प्रतिष्ठानले सफता प्राप्त गरेकामा बधाई दिनुभयो ।

पछिल्लो समय नेपालले अन्धोपन निवारणमा सफलता प्राप्त गरेको छ । सन् १९८१ मा अन्धोपनमध्ये न्यूनदृष्टियुक्तको सङ्ख्या शून्य दशमलव ८४ रहेकामा सन् २०१० मा शून्य दशमलव ३५ मा झरेको थियो । आँखा कार्यक्रममार्फत सरकारले आँखा उपचारमा प्राथमिकता दिँदै आएको छ ।

Thuprai - Books and E-books