A Levels MA

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा पुनः हुँदैन

१२ कक्षामा ८० प्रतिशत माथि नम्बर ल्याएका विद्यार्थीले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा ५० नम्बर पनि ल्याउन नसकेको पाइएको छ ।

आयोगले गत साउन ९ देखि १३ सम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा एमबीबीएस र बीडीएस बाहेकका अधिकांश विषयमा विद्यार्थीले उक्त नम्बर ल्याउन नसकेका हुन् । आयोगले विभिन्न विषयमा निर्धारण गरेको करिब ८ हजार सिटका लागि प्रवेश परीक्षामा सहभागी ३२ हजार ३०० विद्यार्थीले  आवेदन दिएका थिए । अधिकांश विषयमा विद्यार्थीले ५० प्रतिशत नम्बर नल्याएर आयोगले निर्धारण गरेको सिट खाली नै हुने भएको देखिएको छ ।

आयोगले २१ गते सार्वजनिक गरेको नतिजामा सिट संख्या १४२० निर्धारण गरिएको बिपिएचको प्रवेश परीक्षामा ५६५ जनाले मात्र ५० प्रतिशत ल्याएका छन् । त्यस्तै ११०० सिट तोकिएको बिएससी नर्सिङमा ५०४ जनाले, ९०२ सिट भएको बी फर्मामा ५४७ जनाले, १५० सिट निर्धारण गरेको बिपिटीमा ११४ जनाले , ७१ सिट भएको बिएससी एमआइटीमा ३५ जनाले मात्रै ५० प्रतिशत प्राप्ताङ्क प्राप्त गरेका हुन् । त्यस्तै, ४२५ सिट तोकिएको बिएससी एमएलटीमा ११८जनाले मात्र ५० प्रतिशत वा सो भन्दा माथि प्राप्ताङ्क हासिल गरेका छन् ।

आयोगले निर्धारण गरेको सिटभन्दा कम विद्यार्थी पास भए पनि कोरोनाको महामारीका कारण गत वर्ष सञ्चालन गर्नु पर्ने प्रवेश परीक्षा अहिले मात्र भएको भन्दै आयोग पुनः प्रवेश परीक्षा सञ्चालन नगर्ने पक्षमा रहेको छ । ‘एमबीबीएस, बीडीएसमा पर्याप्त विद्यार्थी पास भए पनि अन्य विषयमा सिट संख्या भन्दा कम विद्यार्थी पास भएका छन् , जुन विषयमा प्लस टु पास भएका छन् तिनै विषयमा, सोही पाठ्क्रममा आधारित भएर आयोगले परीक्षा लिएको हो ।’ आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरि भन्छन्, ‘यो परीक्षा चिकित्सा विषयमा स्नतक तहमा प्रवेशका लागि विद्यार्थी योग्य छ कि छैन भन्ने हो, कट अफ पइन्ट ५० प्रतिशत राखेर लिइएको हो, विद्यार्थी फेल भएका होइनन् चिकित्सा शिक्षामा प्रवेश गर्न तयारी नपुगेको मात्र हो ।’

पुनर्योगका लागि दुई हजारको आवेदन

चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेर दुईहजार विद्यार्थीले पुनर्योगका लागि आयोगमा निवेदन दिएका छन् ।

आयोगले नतिजा प्रकाशन भएपछि नम्बरमा चित्त नबुझे दाबी विरोध गर्न, रिटोटलिङ, छात्रवृत्ति समूह नमिलेकोमा पुनर्योगका लागि आवेदन दिन विद्यार्थीलाई गत साउन २८ गते सम्म आवेदन माग दिएको थियो । उक्त समयमा विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका हुन् । आगोगले पुनः विश्लेषणगरी केही दिन भित्र नतिजा सार्वजनिक गरेपछि म्याचिङ गरिने उपाध्यक्ष गिरिले जानकारी दिए ।

म्याचिङ्ग प्रणाली 

विद्यार्थी भर्नाको मुल आधार भनेको ऐनको दफ १६ अनुसारको एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम रहेको छ । आयोगले ‘चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाको म्याचिङ्ग प्रणाली सम्बन्धी कार्यविधि, २०७८’ गत साउन २१ गते जारी गरेको छ ।

 चिकित्सा शिक्षाको क्षेत्रमा स्वदेश तथा विदेशबाट प्राप्त हुने छात्रवृत्ति र स्वदेशका शिक्षण संस्थामा निशुल्क वा सशुल्क अध्ययनका लागि निर्धारित सिटमा विद्यार्थी भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा म्याचिङ्ग प्रणालीद्वारा विद्यार्थी छनोट गर्ने राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धी नियमावली, २०७७ को नियम १८ बमोजिम  जारी भएको कार्यविधिले प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीलाई भर्नाका लागि मार्गदर्शन गरेको छ ।विदेशी विद्यार्थीका लागि छुट्याएको सिट र छात्रवृत्तिका लागि छुट्याएको सिटमा पहलिो चरणमा  म्याचिङ्ग गर्ने छ । 

७५ प्रतिशत छात्रवृत्ति

आयोग निर्धारण गरेको टोटल सिटमा ७५ प्रतिशत छात्रवृत्तिका लागि आयोगले छुट्याएको छ । त्यही ७५ प्रतिशतलाई सय मानेर त्यसको ५५ प्रतिशत मेरिटका आधारमा छात्रवृत्ति प्रदान गर्ने र बाँकी ४५ प्रतिशत रिजर्भेसनबाट छात्रवृत्ति प्रदान गरिने उपाध्यक्ष गिरिले जानकारी दिए ।

छात्रवृत्तिमा छनोटमा परेका चिकित्सा शिक्षाका विद्यार्थीले विचैमा छाडेमा उक्त कोर्ष पढ्न लाग्ने शुल्क र ऐन अनुसार दण्ड जरिमाना आयोगले गर्ने व्यवस्था छ । विद्यार्थी भर्ना हुनका लागि सम्बन्धित कलेजमा जानु पर्दैन । सिधै सम्बन्धित विश्वविद्यालयमा गएर टोटल शुल्कको एक तिहाइ शुल्क तिरेपछि विद्यार्थी भर्ना हुन पाउने उनले जानकारी दिए ।

पहिलो म्याचिङ्गका विद्यार्थीले छाडेमा दोस्रो म्याचिङ्गका विद्यार्थीले अवसर पाउने

पहिलो म्याचिङ्मा विद्यार्थीले मन परेको कलेज तथा विश्वविद्यालय आफ्नो प्राथमिकतामा परेका २५ वटा कलेजमा मेरिटका आधारमा भर्ना हुन पाउँछन् । पहिलो म्याचिङमा मेरिटका आधारमा उच्च अङ्क प्राप्त गरेका विद्यार्थीले छनोट गरेको कलेज तथा विषय पहिलो चरणमा छनोटमा परेका विद्यार्थीले छाडेमा मात्र उक्त कलेजमा दोस्रो म्याचिङमा पर्ने विद्यार्थीले रोज्न पाउने उपाध्यक्ष गिरिले बताए ।

चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाको म्याचिङ्ग प्रणाली सम्बन्धी कार्यविधि, २०७८

Thuprai - Books and E-books