A Levels MA

महानिर्देशकको लिगलिगे दौड सुरू

काठमाडौँ । आगामी साताबाट रिक्त हुन लागेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक पदका लागि शिक्षाका सहसचिवहरूको शक्ति केन्द्रमा दौडधुप बाक्लिएको छ ।

महानिर्देशकको लिगलिगे दौडका लागि छ जना सहसचिवको प्रतिस्पर्धा सुरू भइसकेको छ । दौडमा सबैभन्दा अग्रस्थानमा सहसचिव कृष्णप्रसाद काप्री देखिएका छन् । उनी सहसचिवको जेष्ठतामा छैटौँ स्थानका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ‘किचेन क्याबिनेट’का रूपमा रहेर सघाउँदै आएका छन् । उनी नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठको कोटाबाट महानिर्देशक बन्ने दौडमा लागेका छन् । अचेल नारायणकाजी निवास हात्तिवनमा उनको आउजाउ बाक्लै बढेको छ । काप्रीको पनि मूलघर गोर्खा हो । हाल मन्त्रालयको विद्यालय शिक्षा महाशाखाको प्रमुखको रूपमा काम गरिरहेका काप्रीले माध्यमिक शिक्षा ऐनको एकलौटीरुपमा मस्यौदा तयार गरिरहेका छन् । 

सहसचिव काप्रीभन्दा वरिष्ठतामा रहेका सहसचिव खगेन्द्र नेपाल, चूडामणि पौडेल, डा. हरि लम्साल, डा. तुलसी थपलिया, डा. लेखनाथ पौडेल भए पनि कसलाई महानिर्देशकको पद प्राप्त हुनेछ भन्ने अहिले शिक्षामा निकै चर्चाको विषय बन्दै आएको छ । पूर्वमाओवादी धारका सहसचिव केशव दाहाल पनि महानिर्देशकका लागि चर्चामा आएका पात्र हुन् । 

शिक्षाका सहसचिवमा नेकपा समर्थित बढी छन् । नेकपाको सरकार भएका बेला आफ्ना समर्थकलाई महानिर्देशकको जिम्मेवारी दिइनुपर्दछ भनेर कर्मचारी संगठनहरू पनि शक्ति केन्द्रमा धाइरहेका छन् । काँग्रेसले आफ्ना पक्षधरलाई महानिर्देशक बनाउने अभ्यास गरे पनि त्यो प्रवृत्ति राम्रो होइन भन्दै काँग्रेस समर्थक सहसचिवहरू बताउन थालेका छन् । 

स्रोतका अनुसार अधिकांश कर्मचारीहरुको चाहनामा सहसचिव डा. तुलसी थपलिया र चूडामणि पौडेल मध्य एक जनालाई महानिर्देशक बनाउनुपर्ने छ । शिक्षामन्त्री पोखरेलले चूडामणि पौडेललाई सो जिम्मेवारी नदिने भन्दै हिँडेका छन् । त्यसैले पनि भर्खरै चूडामणिलाई सीएलपीआईयूमा लगेर थन्क्याइएको छ । उता केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठ पनि यस दौडमा देखिएका छन् । हालका महानिर्देशक बाबुराम पौडेल पनि श्रेष्ठको पक्षमा लाग्दै आएका छन् । केन्द्रका उपमहानिर्देशक डा. थपलियालाई पाठ्यक्रम विकास केन्द्रमा लैजाने र हालका उपमहानिर्देशक श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिने सोचमा मन्त्री रहेको मन्त्रालयका सहसचिवहरुको विश्लेषण छ ।

मन्त्री पोखरेलले आफ्ना नेता नारायणकाजी श्रेष्ठकै सिफारिसमा परेकालाई महानिर्देशक बनाउने निश्चित प्रायः छ । “मन्त्रीज्यूले वरिष्ठ भन्दा पनि आफूलाई सहयोग गर्नेलाई महानिर्देशक बनाउने तयारीमा लाग्नुभएको छ, तपाईँ ढुक्क भए हुन्छ” मन्त्रीको निजी सचिवालयका एक पदाधिकारीले भने ।

हाल मन्त्रालयमा कमलप्रसाद पोखरेल, दीपक शर्मा, कृष्णप्रसाद काप्री, रामशरण सापकोटा, शिक्षक सेवा आयोगमा वैकुष्ठप्रसाद अर्याल, पाठ्यक्रम विकास केन्द्रमा डा. लेखनाथ पौडेल, केन्द्रमा डा. तुलसी थपलिया, इमनारायण श्रेष्ठ, विष्णु अधिकारी, शिक्षाको लागि खाद्य कार्यक्रममा खगेन्द्र नेपाल, सिएलपिआइयुमा चूडामणि पौडेल, चिकित्सा शिक्षा आयोगमा डा. हरि लम्साल, शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा केशव दाहाल, र युवा तथा खेलकुद मन्त्रालयमा अणप्रसाद न्यौपाने छन् । खेलकुद मन्त्रालयका सहसचिव न्यौपानेको गत वर्ष नै सरूवा भए पनि खेलकुदमन्त्रीले सो सरूवालाई नस्वीकार्दा सरूवा कार्यान्वयन हुन सकेन । पाठ्यक्रम विकास केन्द्रका डा. लेखनाथ पौडेल आगामी महिना सेवा निवृत्त हुँदैछन् । कुनै बेला निकै निकट रहेका सहसचिव वैकुण्ठ अर्याललाई मन्त्रीले नरुचाएकाले शिक्षक सेवा आयोगमा थन्क्याउने नियतले सरुवा गरेका थिए ।  

Thuprai - Books and E-books