After SEE Portal

विद्यार्थीको शुल्कमा शिक्षाका हाकिमकाे रजाइ

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डको रकममा यतिबेला कर्मचारीहरु अमेरिका सयरमा रमाइरहेका छन् ।

दशैँको मौका पारेर कार्यक्रम मिलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान अर्याल, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्याल र कर्मचारी संगठनका अध्यक्षसमेत रहेका बोर्डका अधिकृत नरेन्द्र ढकाल अमेरिका पुगेका छन् । नेपालको शिक्षा पद्धति र अमेरिकाको शिक्षा पद्धतिसँग कुनै तादाम्यता नरहे पनि विद्यार्थीले बुझाएको शुल्कबाट उनीहरु त्यहाँ पुगेका हुन् ।

फुलपातीका दिन उनीहरु अमेरिका प्रस्थान गरेका थिए । उनीहरुले आफ्ना साथमा पत्नी पनि लिएर गएका छन् । पत्नीको खर्च निजी माध्यमिक विद्यालय (प्लससटु)का सञ्चालकहरूले व्यहोरिदिएका छन् ।

बोर्डका सदस्यसचिव अर्यालले अवकास पाउन मुस्किलले छ महिना बाँकी छ । उनले आफू घर बस्नुअघि बोर्डको रकममा घुम्न गएको भन्दै बोर्डमा निकै विरोध भइरहेको छ ।

बोर्डका एक जिम्मेवार पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, “के आधारमा सदस्य सचिव अमेरिका जानुपरेको हो ? अधिकृत ढकाललाई किन लिएर जानु परेको हो ? मन्त्रालयको प्रशासनका सहसचिव अर्याललाई लैजानु सान्दर्भिक हो वा होइन ? यस्ता अनुत्तरित प्रश्न सिर्जना भएका छन् ।”

कर्मचारीहरुले उनीहरु स्वदेश फिरेसँगै सदस्यसचिव अर्यालको कार्यकक्षमा तालाबन्दी गर्ने योजना बनाएका छन् । रुष्ट बनेका कर्मचारीहरुले अमेरिका जाँदाको खर्च निजी रुपमा नव्यहोर्दासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । 

शिक्षा मन्त्रालय सूत्रका अनुसार दशैँ अगाडि गए पनि कार्यक्रम दशैँपछाडिको हो । अमेरिकाको परीक्षा प्रणालीका बारेमा टोलीले अध्ययन गर्नेछ । 

यस बारेमा बोर्ड र मन्त्रालयका सम्बद्ध पदाधिकारी कोही पनि बोल्न चाहँदैनन् । उनीहरुले टोली फर्किएपछि उनीहरुसँग कुरा गर्नु भनी पन्छिने गरेका छन् । उनीहरुको भ्रमण स्वीकृत बोर्डको सिफारिसमा शिक्षामन्त्रीले गरेका हुन् ।  

A Levels MA