सरकारले देशभर प्राविधिक शिक्षा विस्तार गर्ने तयारी गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बताउनुभएको छ । ‘ओखलढुङ्गा स्कूल अफ हेल्थ साइन्स’को अनुगमन गर्दै उहाँले आगामी वर्षसम्म ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षाका कक्षा सञ्चालन गरिने बताउनुभयो ।
सबै नेपालीलाई जीवन उपयोगी शिक्षा दिने योजना अनुरुप ‘एक स्थानीय तह, एक प्राविधिक शिक्षालय’ खोल्ने सरकारको नीति रहेको मन्त्री पोखरेलले बताउनुभयो । उहाँले प्राविधिक धारका कक्षा सञ्चालनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले साझा प्रयास गरिरहेको बताउनुभयो । मन्त्री पोखरेलले प्राविधिक शिक्षाका लागि प्रयोगशाला र दक्ष प्राविधिक शिक्षकको व्यवस्थापन गर्न स्थानीय सरकारलाई सुझाव दिनुभयो ।
“अझै ६० हजार बालबालिका विद्यालयबाहिर छन्”, उहाँले भन्नुभयो । विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गराएर औपचारिक शिक्षा सुनिश्चित गर्न मन्त्री पोखरेलले स्थानीय सरकारलाई निर्देशन दिनुभयो । देशका १२६ स्थानीय तहका विद्यालय तहका सबै बालबालिकालाई भर्ना अभियानमा समेटिएको उहाँले जानकारी दिनुभयो ।
सांसद यज्ञराज सुनुवारले जिल्लामा स्वास्थ्य विज्ञानको पढाइ शुरु भएपछि पूर्वी पहाडी जिल्लाका विद्यार्थीले नर्सिङ पढ्न लाखौँ रुपैयाँ खर्चेर टाढा धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले नर्सिङ कक्षाको व्यवस्थापनका लागि रु १५ लाख रकम सहयोग गर्ने घोषणा गर्नुभयो ।
ओखलढुङ्गा सामुदायिक अस्पतालको व्यवस्थापनमा स्वास्थ्य विज्ञानको अध्यापन यस वर्षदेखि शुरु भएको हो । हाल २० छात्राले अध्ययन गरिरहेको अस्पतालका निमित्त निर्देशक बुद्ध श्रेष्ठले जानकारी दिनुभयो ।