विद्यार्थी नेपाली भाषामै नै कमजोर

काठमाडौं । कक्षा ११ को नतिजा प्रकाशित भएसंगै अधिकासं विद्यार्थी नेपाली भाषामा कमजोर देखिएका छन् । कक्षा ११ को नतिजाअनुसार अन्य विषयको तुलनामा नेपाली विषयमा विद्यार्थीले अत्यन्त कमजोर ग्रेड प्राप्त गरेका छन् । 

नेपालीमा भन्दा अंग्रेजीमा ए प्लस हासिल गर्ने विद्यार्थीको संख्या अत्यन्त बढी रहेको छ । अनिवार्य अंग्रेजीमा चार सय ७३ विद्यार्थीले ए प्लस ल्याउँदा अनिवार्य नेपालीमा ५३ जनाले मात्र उच्चतम ग्रेड प्राप्त गरेका हुन । 

त्यस्तै, ऐच्छिक नेपालीमा झन चिन्ताजनक नतिजा आएको छ । जबकी एकजनाले पनि ए प्लस ल्याएका छैनन् । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा ११ को परीक्षामा कुल पाँच लाख नौ हजार विद्यार्थी सहभागी भएका थिए । नेपालीमा तीन लाख २१ हजार एक सय ८० र अंग्रेजीमा चार लाख ३८ हजार ९७ ले आवेदन फारम भरेका थिए । 

जसमध्ये  नेपालीमा १५ हजार एक सय ४६ अनुपस्थित रहे भने अंग्रेजी विषयमा २१ हजार एक सय ७५  । परीक्षार्थीमध्ये अंग्रेजीमा ग्रेड ए ल्याउने १३ हजार सात सय एक र नेपालीमा तीन हजार एक सय १५ छन् । बी प्लस ल्याउने अंग्रेजीमा ३३ हजार सात सय ३१ र नेपालीमा १८ हजार चार सय तीनजना छन् । 

नेपालीमा बी, सी प्लस र सी ग्रेड ल्याउने विद्यार्थी धेरै छन् । ४२ हजार आठ सय २९ जनाले बी, ६१ हजार चार सय ९८ जनाले सी प्लस र ७२ हजार तीन सय ६० जनाले सी ग्रेड हासिल गरेका छन् । अंग्रेजीमा भने बी ल्याउने ३९ हजार आठ सय ६५, सी प्लस ल्याउने ४३ हजार दुई सय ९४ र सी ग्रेड ल्याउने ५९ हजार ६ सय सातजना छन् । 

अंग्रेजीमा डी प्लस, डी र ई ल्याउने धेरै छन् । ७८ हजार ६ सय ५३ ले डी प्लस, ६८ हजार नौ सय ३४ ले डी र ७८ हजार ६ सय ६४ ले ग्रेड ई ल्याएका छन् । त्यसैगरी, नेपालीमा डी प्लस ल्याउने ६१ हजार आठ सय ७७, डी ल्याउने ३१ हजार ५६, ई ग्रेड ल्याउने १४ हजार आठ सय ४३ छन् । 

ऐच्छिक नेपालीमा ८४ हजार विद्यार्थीले फारम भरेकामा एकजनाले पनि ए प्लस ग्रेड हासिल गर्न सकेनन् । ए ग्रेड ल्याउने पनि जम्मा १३ जना मात्र छन् । यसकारण, नेपालमा नेपाली भाषा कतातिर जादै छ भन्नेमा सम्बन्धित निकाय जबाफदेही हुन जरुरी रहन्छ ।