चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षामा विद्यार्थीसंग आवश्यक कागजात नहुदा समस्या हुने देखिएको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स वितरणमा ढिलाइ गर्दा बीपीएचका परीक्षार्थी स्नातकोत्तर तहको प्रवेश परीक्षाको फाराम भर्न बञ्चित हुने देखिएको हो ।
आयोगले जारी गरेको स्नातकोत्तर तहको प्रवेश परीक्षाका लागि विद्यार्थीले कार्तिक १६ गते भित्र आवेदन दिइसक्नु पर्ने छ तर परिषद्ले बीपीएचको लाइसेन्स प्रमाणपत्र अझै वितरण गरेको छैन ।
बीपीएचको लाइसेन्स प्रमाणपत्र परीक्षा असोज १ गते सञ्चालन गरे पनि अझै प्रमाण पत्र वितरण नगरेको विद्यार्थीको गुनासो छ । विद्यार्थीका अनुसार, परिषद्ले उक्त परीक्षाको नतिजा भने असोज ६ गते नै सार्वजनिक गरिसकेको छ ।
परिषद्ले पटक पटक प्रमाणपत्र वितरण गर्ने मिति धकेल्दै गएपछि विद्यार्थीहरू आफूहरू प्रवेश परीक्षामा नै सामेल हुन नपाउने हो कि भन्ने चिन्तामा परेको बताउँछन् । यसअघि परिषद्ले दोस्रो पटक असोज २४ गते सूचना जारी गर्दै कात्तिक १४ बाट मात्रै प्रमाणपत्र बितरण सुरु हुने सार्वजनिक गरेको छ । तर परिषद्ले आन्तरिक तयारी पुरा नभएको भन्दै कार्तिक १७ गते देखि मात्र प्रमाणपत्र प्रदान गर्ने भनेको हुँदा समस्या भएको विद्यार्थीहरू बताउँछन् ।