एसईई केन्द्रीयस्तरबाटै सञ्चालन हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) साविकझै केन्द्रीयस्तरबाट सञ्चालन हुने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश शिक्षा निर्देशनालयसँग समन्वय गरेर केन्द्रले नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को यस निर्णयबाट यस वर्षको एसईई राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नै सञ्चालन गर्नेछ ।

केही समयअघि मन्त्रिपरिषद्अन्तर्गतको सामाजिक समितिले सरकारी नीतिअनुरुप अब एसईई प्रदेशस्तरमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर त्यसका लागि कानुनी व्यवस्था नभएको भन्दै कानुन मन्त्रालयले आपत्ति जनाएपछि यो विषयलाई पुनः मन्त्रिपरिषद्मा लिएर जानुपरेको हो ।

विद्यालय क्षेत्रसम्बन्धी नयाँ संरचनाअनुसार कक्षा ८ को पालिकास्तरमा, कक्षा १० को प्रदेशस्तरमा र कक्षा १२ को राष्ट्रियस्तरमा परीक्षा सञ्चालन गर्ने व्यवस्था छ । तर सोअनुरुप कानुनमा संशोधन भइसकेको छैन । 

यसैगरी मन्त्रिपरिषद्ले कक्षा १० का विद्यार्थीको स्थानान्तरण र शैक्षिक सत्र दुई महिना सार्ने विषयमा कुनै निर्णय गरेन । स्रोतका अनुसार त्यसका लागि शिक्षा नियमावली संशोधन गर्नुपर्ने हुन्छ र सोका लागि शिक्षा मन्त्रालयले कानुन मन्त्रालयको सहमति लिएर प्रस्ताव पठाउनुपर्ने हुन्छ ।

Thuprai - Books and E-books