टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलद्वारा विद्यालय अवलोकन

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलद्वारा विद्यालय अवलोकन

टर्कीको अन्ताल्यामा आयोजित ३१औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा सहभागी हुन पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले टर्कीका शैक्षिक अभ्यासहरू, विशेषगरी 'ग्रीन स्कुल' मोडलको स्थलगत अवलोकन गरेका छन्।

अन्तालियामा रहँदा टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ टेकिनले नेपाली समकक्षीलाई विशेष महत्व दिँदै स्थानीय शैक्षिक संस्थाहरूको भ्रमणको व्यवस्था मिलाए। मन्त्री पोखरेलले टर्कीको बालमैत्री, प्रकृतिमैत्री र अनुभवमा आधारित सिकाइ प्रणालीप्रति गहिरो चासो देखाउँदै त्यसको व्यवस्थापन र कार्यान्वयनबारे विस्तृत जानकारी लिए।

भ्रमणको क्रममा दुवै देशका शिक्षामन्त्रीले अन्तालियाको मुरतपासा जिल्लामा रहेको 'जुलाई १५ सहिद बाल विकास केन्द्र' (बालविद्यालय) को अवलोकन गरे। अवलोकनमा मन्त्रीहरूका साथै टर्कीको सत्ताधारी एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओईसीडीलगायत अन्तर्राष्ट्रिय संस्थाका उच्च प्रतिनिधिहरू उपस्थित थिए।

अवलोकनका क्रममा मन्त्री पोखरेलले परम्परागत कक्षाकोठामा आधारित शिक्षाभन्दा पर गएर साना बालबालिकालाई सानै उमेरदेखि कसरी प्रकृति, वातावरण संरक्षण र दिगो विकासमा केन्द्रित जीवनशैलीसँग जोड्न सकिन्छ भन्नेबारे विशेष जिज्ञासा राखे। विद्यालय परिसरमा रहेको कार्यशाला र बिरुवा खेती गरिने क्षेत्रको निरीक्षण गर्दै उनले बालबालिकाले तयार पारेका 'जिरो वेस्ट' परियोजना, पुनःप्रयोग (रिसाइक्लिङ) का अभ्यास तथा मिनी ग्रिनहाउस वा नर्सरीमा तरकारी र अन्य बिरुवा उमार्न अपनाइएका प्रयोगात्मक विधिबारे शिक्षक तथा विद्यालय प्रशासनसँग विस्तृत जानकारी लिए।

यस अवसरमा टर्कीका राष्ट्रिय शिक्षामन्त्री टेकिन र मन्त्री पोखरेलले विद्यालयका शिक्षक तथा अभिभावकसँग पनि छलफल गरे। उनीहरूले पूर्व-प्राथमिक तथा सामुदायिक विद्यालय सञ्चालनका व्यावहारिक अनुभव, पूर्वाधारका आवश्यकता र अभिभावक तथा विद्यालयबिचको सहकार्यका मोडलबारे विचार आदानप्रदान गरे।

टर्कीको व्यावहारिक 'ग्रीन स्कुल' मोडल र प्रारम्भिक बाल विकास केन्द्रको अवलोकनपछि मन्त्री पोखरेलले साना बालबालिकामा प्रकृतिप्रतिको प्रेम, जिरो वेस्टको बानी र जलवायुसम्बन्धी सचेतना विकास गर्न सकियो भने भावी पुस्ता स्वाभाविक रूपमा वातावरणमैत्री र विपद्‌प्रति उत्थानशील बन्ने धारणा राखे।

टर्कीका समकक्षीसँगको भेटवार्ता, स्थलगत भ्रमण र अनुभव आदानप्रदानले नेपालमा विद्यालय शिक्षा सुधार गर्न र 'ग्रीन स्कुल' विकास गर्न थप सहयोग पुर्‍याउने मन्त्री पोखरेलको विश्वास छ।