अब विद्यालय तहमा एउटै परीक्षा नियन्त्रण कार्यालय

विद्यालय तहका सम्पूर्ण परीक्षा एउटै निकायबाट सञ्चालन गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डको पुनःसंरचना गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड पुनःसंरचना उच्चस्तरीय कार्यदल गठन गरेको छ । कार्यदल नेपाल सरकारका पूर्वसचिव शङ्करप्रसाद पाण्डेको संयोजकत्वमा गठन गरिएको छ । सो कार्यदलले आफ्नो काम थालिसकेको छ । कार्यदलको अवधि दुई महिना रहेको छ ।

हाल कक्षा १०, कक्षा १२ र प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को परीक्षा सञ्चालन गर्न तीन छुट्टाछुट्टै निकाय छन् । ती तीनै निकायलाई एकीकृत गर्ने गरी कार्यदलले सिफारिस गर्नेछ ।

“कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ । कक्षा १० को परीक्षाका लागि पनि फरक परीक्षा नियन्त्रण कार्यालय छ । सिटिइभिटीको पनि परीक्षा नियन्त्रण कार्यालय छ” कार्यदलका सदस्यसचिवको समेत जिम्मेवारी प्राप्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले भने, “कक्षा १० को परीक्षा प्रदेशलाई दिने बारेमा कतिपय दस्तावेजले बोल्छ । त्यसैले यी परीक्षाका हकमा एउटै निकायबाट कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा नै कार्यदलले अध्ययन गर्नेछ र सोहीअनुरूपको सिफारिस गर्नेछ ।”

अहिले कक्षा ९ र ११ को परीक्षाका लागि पनि रजिष्ट्रेसन गराउनुपर्ने वाध्यात्मक अवस्था छ । दुवै तह विद्यालय शिक्षाअन्तर्गत भएकाले दुईपटक रजिष्ट्रेसन गराउनुले दोहोरो भएको गुनासो निकैअघिदेखि गरिँदै आएको छ । कार्यदलले दोहोरो रजिष्ट्रेसनलाई हटाउने विषयमा पनि अध्ययन गर्ने बताइएको छ ।अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ कार्यान्वयन भएको सन्दर्भमा रजिष्ट्रेसन, परीक्षालगायत वापत शुल्क मिनाहा गर्ने बारेमा पनि कार्यदलले अध्ययन गर्ने भएको छ । उनले भने, “रजिष्ट्रेसन, परीक्षा आदि शुल्क किन लिने ? भन्ने बारेमा पनि कार्यदलले सिफारिस गर्नेछ ।”

कार्यदलले वुधबार विराटनगरका सरोकारवालासँग अन्तरक्रिया गरेको छ भने शुक्रबार सुर्खेतमा अन्तरक्रिया गर्नेछ । सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय एकाइ, पालिकाको शिक्षा शाखा प्रमुख, प्याब्सन, राष्ट्रिय प्याब्सन, शिक्षकका पेशागत संस्था आदिसँग यस्तो अन्तरक्रिया गरिने छ ।

कार्यदलमा डा. भोजराज शर्मा, डा. लेखनाथ पौडेल, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव र सिटिइभिटीका परीक्षा नियन्त्रक पनि सदस्यका रूपमा रहेका छन् ।