काठमाडौं । शिक्षक सेवा आयोगबाट खुलाइएको शिक्षक लाइसेन्सको परीक्षा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन)ले बहिस्कार गर्ने भएको छ ।
बुधवार हिस्टुनको केन्द्रिय कार्यालयमा बसेको अनौपचारिक बैठकले शिक्षक आयोगले खुलाएको शिक्षक लाइसेन्सको विज्ञापन नम्बर ३५ खारेज नभएसम्म परीक्षामा सहभागी नहुन सम्पूर्ण सदस्य शिक्षकहरुसँग अनुरोध गरेको छ ।
हिस्टुनले शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै गत साउन २८ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । तर, सर्वोच्च अदालतले सो मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने बताएको थियो ।
शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी कक्षा १२ सम्मलाई माध्यमिक तह बनाए पछि कक्षा १० र ११–१२ मा पढाइ हुने विषयमा अन्तर आएपछि, यस्तो समस्या आएको हिस्टुनका अध्यक्ष पुष्प न्यौपानेले बताए ।
न्यौपानेले भन्छन् “हाम्रो मागको बारेमा शिक्षा मन्त्रीलाई पटक पटक अवगत गराउँदा पनि सुनुवाई भएन, अदालतबाट पनि न्याय नपाए पछि हामी वाध्य भएर बहिस्कारको निर्णयमा पुग्यौं । १० गते नै हुने अन्य परीक्षा प्रती हाम्रो कुनै चासो छैन ।’’
मंगलबार अदालतले परीक्षा रोक्न नपर्ने फैसला गर्नासाथ आयोगले केन्द्र निर्धारण गरेको थियो ।