सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

रामपुर, ५ माघ (रासस) ः पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ । 

सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुले बताउन थालेका छन् । 

रामपुर बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालय गुणस्तरीय पढाई हुन थालेपछि अहिले सो विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइ बनेको छ । प्रशस्त रुपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्ने वित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण आफूहरु त्यहाँ पढ्न लागेको विद्यार्थी निशान सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो, “मायालु वातावरणमा शिक्षक पढाउन थालेपछि नै यो स्कुल मन पर्छ ।” 

पाल्पाका दुई विद्यालय नमूना विद्यालयमा छनौटसमेत भएका छन् । विद्यार्थी सङ्ख्या, विज्ञान सङ्कायमा पढाइ हुने, पुस्तकालय, प्रयोगशालाको व्यवस्था, भौतिक संरचना, १० रोपनी जग्गा भएको, कक्षा १ देखि १२ सम्म पढाइ हुने, नियमित लेखा परीक्षण, अध्यापन शैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा २०७४ मा सरकारले गँगा माध्यामिक विद्यालय र रामतुलसी माविलाई नमूना विद्यालयको रुपमा छनौट गरेको थियो । 

नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपालीसँगै विज्ञान तथा बालिविज्ञान विषयमा पढाइ हुने रामतुलसी मावि अहिले जिल्लाकै धेरै विद्यार्थी भएको दोस्रो विद्यालयको रुपमा रहेको छ । सो विद्यालयमा अहिले झण्डै दुई हजार विद्यार्थी अध्ययनरत छन्। पाल्पासँगै गुल्मी, पर्वत, अर्घाखाँची, स्याङ्जा, तनहुँ र नवलपुरबाट समेत पढाईका लागि यहाँ विद्यार्थी आउने गर्छन् । 

कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सरकारी विद्यालयप्रति आकर्षण बढेको शिक्षक लेखनाथ शर्मा मरासिनीले बताउनुभयो । 

विद्यालयका सहयोगी कुलबहादुर दरैले भन्नुभयो, “ हेडसर बिहानैदेखि स्कुलमा आएपछि बेलुकासम्म खट्नुहुन्छ । समयभन्दा कसैले तलमाथि गर्न पाउदैन । घण्टी बज्ने बितीकै सरहरु कक्षामा पस्नुहुन्छ, तोकिएको समयमा विद्यालय नपुग्ने विद्यार्थी र शिक्षकलाई कारवाही हुन्छ ।” 

विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलावबारे चासो राख्दा पनि विद्यार्थी तथा शिक्षक अनुशासनमा डो¥याउन सहज हुने प्रधानाध्यापक बालकृष्ण लम्सालको भनाइ छ । 
विद्यालयमा उमेरले पाको भए पनि सबै शिक्षकहरुलाई खाली समयमा कम्प्युटर सीपसमेत सिकाइको छ । विज्ञान र प्रविधिको समयमा अब कम्प्युटरमार्फत शिक्षा दिनका निम्ति आफूले ४५ वर्षको उमेरमा ज्ञान सिकेर कम्प्युटरमार्फत नै पेपर निकाल्नेलगायत काममा समेत सहज भएको शिक्षक शान्ति रानाले बताउनुभयो । 

देशका विभिन्न सरकारी पदमा कार्यरत कर्मचारी उत्पादन गर्ने रामपुरकै पुरानो विद्यालयका रुपमा परिचित रामतुलसी विद्यालय यस क्षेत्रकै गौरवमय शैक्षिक संस्थाका रुपमा परिचित रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराईको भनाइ छ । 

पचहत्तर शिक्षकले अध्यापन गराउने विद्यालयमा गतवर्ष मात्रै ३५० नयाँ विद्यार्थी भर्ना हुन आएको थियो । तीमध्ये निजी तथा आवासीयबाट १५० विद्यार्थी अध्ययनका निम्ति आएका विद्यालयले जनाएको छ । अहिले पाल्पा जिल्लामा ४३७ सरकारी तथा ६० संस्थागत विद्यालय रहेका छन् ।