६० प्रतिशत कोर्स पुरा, एसईई अन्योलमा

दोभान मावि पाल्पामा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । सो विद्यालयबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थी ४१ जना छन् । भने कक्षा १२ मा अध्ययनरत विद्यार्थी पनि ४१ जना नै रहेको प्रधानाध्यापक सूर्यप्रसाद पौडेल बताउँछन् । उनका अनुसार अहिलेसम्म कक्षा ११ र १२ का विद्यार्थीलाई मात्र अनलाइन मार्फत कक्षा सञ्चालन गर्दै आएको छ । दशैं पछाडि लगतै विद्यालयले भौतिक रुपमा पठनपाठन गराएको भएपनि करिब ७० प्रतिशत मात्र पाठ्यक्रम विद्यालयले पठनपाठन गराएको छ ।

नेपाल राष्ट्रिय मावि सल्यानले चालु शैक्षिक सत्रको कक्षा १० को आधा पाठ पनि नपढाएको विद्यालयले जानकारी दियो । विद्यालयका अनुसार विद्यालयमा भौतिक उपस्थितिमा करिब दुई महिना पनि पठनपाठन गराएको छैन । वैकल्पिक सिकाइको पहुँचमा अधिकांश विद्यार्थी नभएका कारण यसको पनि प्रभावकारी कार्यान्वयन गर्न सकेन । फलस्वरुपका सिकाइका निर्दिष्ट उद्देश्य हासिल गर्न नसकेको प्रधानाध्यापक तेजकिरण वलीले बताए ।

एक दुई प्रतिनिधि विद्यालय मात्र होइन अधिंकाश विद्यालयले कक्षा १० को आधाआधी पाठ्यक्रम पनि पढाइसकेका छैनन् । केही पूर्वाधार र प्रविधिसम्पन्न विद्यालयले वैशाखको दोस्रो हप्तादेखि नै भर्चुअल कक्षा सञचालन गरेर सबै कोर्स सकिसकेको भएपनि अधिकांश विद्यालयले ६० प्रतिशतभन्दा माथिको पाठपढाइ नसकेको विद्यालयहरु नै बताउँछन् ।

केही विद्यालयले अघिल्लो वर्षको वैशाखबाट नै अनलाइनबाट पठनपाठन सुरु गरेका भएपनि सो सिकाइमासबै विद्यार्थीलाई समेट्न सकेका छैनन् । अधिकांश विद्यालयको अनलाइन कक्षालाई सुक्ष्म तरिकाले अनुसन्धान गर्ने भने करिब ६० प्रतिशत विद्यार्थीले पनि सो कक्षामा सहभागिता देखाउन सकेका छैनन् । यस्तो अवस्थामा वार्षिक परीक्षा सञ्चालन गर्नु भनेको विद्यार्थीलाई अन्याय गर्नु सरह हुने प्रधानाध्यापक वली बताउँछन् ।

एकतिर विद्यालयले निर्धारित पाठ्यक्रम अनुसारका पाठ पढाइसकेका छैनन् भने अर्को तर्फ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० र १२ को परीक्षाको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

बोर्डको गत फागुन २५ को निर्णयानुसार २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षा आगामी जेठ १३ गते देखि २४ गते सम्म सञ्चालन गर्ने तय गरेको थियो । उक्त समय आउन अब २१ दिन मात्र बाँकी छ । सो समयमा परीक्षा सञ्चालन गर्न एकतिर कोभिड १९को तीव्र संक्रमण देखा परेको छ भने अर्कोतर्फ विद्यालयले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको संक्षिप्त पाठ्यक्रम पनि कार्यान्वय गर्न सकेका छैनन् ।

सरकारले राष्ट्रिय महत्वका केही कार्यक्रम स्थगित गरिसकेको छ । निर्धारित लक्ष्य पुर्ति गर्न नसकी कक्षोन्नति गर्नुभन्दा केही समय पर्खिएर सिकाइका वैकल्पिक माध्यमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी सिकाइका निर्धारित लक्ष्य हासिल गरेर मात्र एसईई परीक्षा सञ्चालन गर्नुपर्ने सरोकारवालाको धारणा छ ।

शिक्षाविद्हरु अहिले कक्षा १० र १२ बाँहेकका अन्य कक्षाका सन्दर्भमा आन्तरिक मूल्याङ्कनलाई आधार मानेर कक्षोन्नतिको नीति अपनाउन सरकारलाई सुझाउँदै आएका छन् ।

गत वर्षको पनि कोरोना कै कराण वैशाख २ गतेबाट विद्यालयले कुनै पनि कक्षाको पठनपाठन गर्न सकेनन् । सरकारले पनि असारबाट मात्र वैकल्पिक माध्यमबाट पठनपाठन गर्न जोड दियो । यसको कार्यान्वयन गर्न भने खासै प्रभावकारी योजना ल्याउन नसकेको प्राडा धनप्रसाद सुवेदी बताउँछन् । विभिन्न गैर सरकारी संघसंस्थाले गरेको अध्ययन अनुसन्धान अनुसार वैकिल्पक सिकाइ भनेको अनलाइनबाट मात्र हुन्छ भन्ने मान्यताका कारण करिब २८ प्रतिशत विद्यार्थी मात्र यसको पहुँचमा पुगेको देखिएको छ ।

अधिकांश विद्यालयले गत मङ्सिर÷माघबाट बल्ल कक्षाकोठाभित्र प्रत्यक्ष पठनपाठन थाले । औँलामा गन्न सकिने विद्यालय बाहेक अन्य विद्यालयले कुनै विषयको पनि कोर्स कम्पिल्ट गर्न नसेकेको शिक्षकहरु नै बताउँछन् ।

गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।

रोल्पाको बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसुधन पोखरेलले गणित ,विज्ञान लगायतका विषयको कोर्स पुरा हुन अझै धेरै बाँकी छ । सिकाइ नै पुगेको छैन । त्यसैले निर्धारित समयमा परीक्षा हुने अवस्था न्यून भएको बताए ।

यता शिक्षाविद्हरु पनि विषम परिस्थितिमा परीक्षा लिनै पर्छ भन्ने मुर्खता गर्नुभन्दा विश्वका विकसित मुलुकहरुले कक्षोन्नतिका विषयमा लिएको सिद्धान्त अनुसरण गर्नु उपयुक्त हुने बताउँछदै आएका छन् । विषम परिस्थितिमा कुनै निर्धारित क्षेत्रमा प्राविधिक छनोट गर्न लिइने र परम्परागत परीक्षामा फरक हुने धारणा राख्दै आएका छन् ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले परीक्षालाई दुई महिना धकेल्नु उपयुक्त बताए । ‘छापिएका प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराऔँ । विद्यालयले उपलब्ध साधनस्रोतका आधारमा उपयुक्त लागेको विधिबाट परीक्षा लिन्छ ।’ अध्यक्ष भण्डारीले भने, ‘उसैले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा तयार गर्नेछ ।’

शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले पनि प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराएर विद्यालयले नै परीक्षा लिने व्यवस्था गर्न सुझाए । उनले परीक्षा अमर्यादित हुन नदिन प्रभवकारिता अपनाउन भने सजग हुनु पर्ने उनको धारणा छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल भने यस विषयमा छलफल भइरहेको अहिले नै कुनै निष्कर्ष ननिकालेको बताउँछन् ।

Thuprai - Books and E-books