विश्वविद्यालय अनुदान आयोगद्वारा सामुदायिक क्याम्पसका लागि आवेदन र प्रस्ताव आह्वान

विश्वविद्यालय अनुदान आयोगले विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेका सामुदायिक क्याम्पसहरूलाई आ.व. २०८२/०८३ का लागि अनुदान आवेदन तथा प्रस्ताव बुझाउन आह्वान गरेको छ। आयोगले स्वीकृत कार्यक्रम र बजेटको परिधिभित्र रही नियमित तथा भौतिक सुविधा विकासका लागि वार्षिक अनुदान उपलब्ध गराउने व्यवस्था अनुसार आवेदन माग गरेको हो।

आयोगका अनुसार आवेदन तथा प्रस्ताव कार्यक्रम कार्यविधि, २०८२ मा तोकिएको ढाँचामा तयार गरी तोकिएको समयसीमाभित्र बुझाउनुपर्नेछ। विस्तृत जानकारी आयोगको वेबसाइटमा उपलब्ध कार्यविधिबाट प्राप्त गर्न सकिने जनाइएको छ। आयोगले म्याद नाघेर आएका वा रित नपुगेका आवेदनमा कुनै कारबाही नहुने स्पष्ट पारेको छ। साथै झुटा विवरण पेश गरेको प्रमाणित भएमा सम्बन्धित क्याम्पसलाई सुविधा वञ्चित सूचीमा राखिने र आवश्यक कारबाहीका लागि सम्बन्धन दिने विश्वविद्यालयलाई जानकारी गराइनेछ।

अनुदानका शीर्षकहरू

• नियमित अनुदान

• भौतिक सुविधा विकास अनुदान (भवन निर्माण, पुस्तक, फर्निचर, उपकरण तथा अतिरिक्त क्रियाकलापका संरचना विकास)

• विशेष अनुदान

अनुदान उपलब्ध गराइने मुख्य आधार

आवेदक क्याम्पसले ugc.nita.gov.np मा अनिवार्य रूपमा Statistical Data Form 2082 भरेको, तोकिएको दस्तुर बैंकमा दाखिला गरेको र निर्धारित मितिभित्र आवेदन दर्ता गरेको हुनुपर्नेछ।

नियमित अनुदानका लागि अघिल्लो वर्षको परीक्षा सहभागी विद्यार्थी संख्या हिमाली जिल्लामा ५०, पहाडीमा ७५, भित्री मधेशमा १००, तराईमा १२५ र काठमाडौं उपत्यकामा १५० जना पुगेको हुनुपर्ने आयोगले जनाएको छ।

कार्यविधिमा उल्लेख भएअनुसार योग्य विद्यार्थी संख्या पुगेका र दुई वर्ष अध्ययन तथा अध्यापन कार्य पूरा गरिसकेका सामुदायिक क्याम्पसहरू आवेदन दिन सक्नेछन्।

आवेदन दर्ता गर्ने समयसीमा

बागमती र गण्डकी प्रदेश: २०८२/०८/२८ गतेसम्म कार्यालय समयभित्र

कोशी, मधेश र लुम्बिनी प्रदेश: २०८२/०९/०१ गतेसम्म कार्यालय समयभित्र

कर्णाली र सुदूरपश्चिम प्रदेश: २०८२/०८/३० गतेसम्म कार्यालय समयभित्र