Bachelors Portal

शिक्षा मन्त्रालयले निर्णय गर्यो यस वर्षका सर्वाेत्कृष्ट विद्यालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज २ गते छ वटा उत्कृष्ट विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ ।

२०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालयतर्फ राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कृत गरिने भएको हो । राष्ट्रिय शिक्षा पुरस्कारको निर्णय गर्न मन्त्रालयका सहसचिव बैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा पुरस्कारसम्बन्धी उपसमिति गठन गरिएको थियो । सो उपसमितिले यस्तो निर्णय गरेको हो ।

मन्त्रालय सूत्रका अनुसार सामुदायिकतर्फ दाङको माध्यमिक विद्यालय तुल्सीपुर सेन्टर प्रथम, काठमाडौँको विश्वनिकेतन मावि दोस्रो र दाङकै जनकल्याण माविले तेस्रो पुुरस्कार प्राप्त गर्दैछ ।

त्यस्तै निजीतर्फ काठमाडौँको फ्लोरिसेन्ट मावि प्रथम, काठमाडौँकै विजेश्वरी सैनिक माध्यमिक विद्यालय द्वितीय र काठमाडौँकै बूढानीलकण्ठ मावि तृतीय स्थान हासिल गरेका छन् ।

ती विद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा र क्रमशः तीन लाख रुपियाँ, दुई लाख रुपियाँ र एक लाख रुपियाँ पनि प्रदान गरिनेछ । साथमा प्रमाणपत्र पनि दिइनेछ ।

Thuprai - Books and E-books