CMAT

निर्देशिका संशोधन गर्दा बोर्डलाई पत्तै दिइएन

राष्ट्रिय परीक्षा बोर्डसँग सहमति नगरेर लेटर ग्रेडिङ निर्देशिका संशोधन गरिएको तथ्य खुलासा भएको छ ।

प्रिन्सिपल्स एसोसिएसन नेपाल (पान)ले आज आयोजना गरेको एसइईको नतिजा तथा सुधारका पक्ष विषयक प्यानल डिस्कसन कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सो खुलासा गरेका हुन् ।

“निर्देशिका संशोधन गर्न बोर्डसँग सहमति भएको थिएन” उनले भने, “कतिपय निर्णय शिक्षा मन्त्रालयले गर्न सक्छ । त्यसै व्यवस्थाअनुसार मन्त्रालयले संशोधन गर्ने निर्णय गरेको हो । नेपाल सरकारले गरेको निर्णयलाई राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयन गर्नुपर्छ ।”

उनले जनचाहनाका कारण मन्त्रालयले त्यस्तो निर्णय गरेको हुनसक्ने बताउँदै त्यसका विरुद्ध प्रतिवाद गर्ने परिस्थितिमा रापबोर्ड नभएको स्पष्ट गरे ।

२०८० सालको एसइईको नतिजा खराब भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरी जतिसुकै विषयमा ननग्रेडेड प्राप्त गरेकाले गे्रडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरेको थियो ।

बोर्डका अध्यक्ष डा. शर्माले नीति परिवर्तन भइरहेको स्वीकार्दै नीति निश्चित समयसम्म रहनुपर्ने बताए । कक्षा १० को परीक्षा आवश्यक हो वा होइन भन्ने जिज्ञाशामा उनले परीक्षा आवश्यक रहेको तर मोडालिटी बनाउनुपर्ने बताए ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले शिक्षक बुद्धिजीवी हुन् वा बुद्धुजीवी हुन् भन्दै थपे, “अब पनि शिक्षकले पुगेन, भएन भन्ने थाङ्ने कुरा गरिरहने होइन । शिक्षक बुद्धिजीवी हुन् । उनले धेरै तरिकाबाट सिकाइ सुधार्ने अभ्यास थाल्नुपर्छ ।”

उनले तागत भएको मानिसमा शिक्षक पर्दछ भन्दै शिक्षकले प्रयास गरे पनि जस् नपाएको बताए ।

“प्रश्न बनाउने पनि शिक्षक हुन् । उत्तरपुस्तिका परीक्षण गर्ने पनि शिक्षक हुन् । पास पनि शिक्षकले बनाएका हुन् । फेल पनि शिक्षकले गरेका हुन्” उनले भने, “विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालयले फेल गरेको होइन, शिक्षकले गरेका हुन् । त्यसो भए किन फेल गरेको भनेर शिक्षकले शिक्षकलाई किन प्रश्न गर्ने ? त्यसैले फेल हामीले गराएको हामीले हो भनौँ । स्वीकारौँ । नीतिलाई मात्र दोष नदिऔँ, नियतलाई पनि दिऔँ ।”

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले उत्तरपुस्तिका पुनर्याेग जस्तै पुनः परीक्षणको पनि व्यवस्था हुनुपर्ने माग गरे । उनले मन्त्री फेरिएपिच्छे शिक्षा नीति फेरिने प्रवृत्ति रहेको उल्लेख गर्दै नीतिमा त्रुटि हुँदा समस्या भएको बताए ।

काठमाडौँ महानगरपालिकाका सहरी विकास आयोजना सदस्य शैलेन्द्र झाले सामुदायिक विद्यालयप्रति विश्वास भएर कामपाले लगानी वृद्धि गरेको बताए । कामपाले पूरक परीक्षाको तयारी कक्षा सञ्चालन गरेको र त्यसमा ५० प्रतिशत परीक्षार्थी उपस्थित नभएको गुनासो गर्दै ती अनुपस्थित परीक्षार्थीका कारण चिन्ता थपिएको बताए ।

पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले अनुत्तीर्ण हुनुमा शिक्षकमात्र कारक नभएको तर्क गर्दै विद्यार्थीको अवस्थाका बारेमा पनि विश्लेषण गर्नु जरुरी भएको बताइन् । उनले हरेक दिन परामर्श दिनुपर्ने खालका विद्यार्थी सामुदायिक विद्यालयमा रहेको बताउँदै सबै पक्ष उत्तिकै जिम्मेवार रहेको बताइन् ।

शिक्षा विकास तथा समन्वय एकाइ ललितपुरका प्रमुख निमप्रकाश राठौरले अचेलका विद्यार्थी शिक्षकभन्दा निकै चलाख भएको बताउँदै अब शिक्षकले परम्परागत विधिबाट पठनपाठन गरेर नहुने बताए । 

पानका अध्यक्ष सुदाम गौतमले अधिकारका कुरा गर्याैँ अब शिक्षकले जिम्मेवारीका पनि कुरा गर्नुपर्छ भने । विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले नतिजा सुधारमा विद्यालय जिम्मेवार र उत्तरदायी बन्न सक्नुपर्ने सुझाव दिए । सो कार्यक्रममा सहजीकरण शिक्षा पत्रकार प्रकृति अधिकारीले गरेका थिए ।

कार्यक्रममा २०८० सालको एसइईमा देशभरिमा सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल काठमाडौँको विश्व निकेतन मावि र ज्ञानोदय माविलाई सम्मान गरिएको थियो । त्यस्तै उपत्यकाबाट काठमाडौँको श्रम राष्ट्रिय मावि, ललितपुरको त्रिपद्म मावि र भक्तपुरको मेघा माविलाई पनि सम्मान गरिएको थियो ।

Thuprai - Books and E-books