कृषि तथा वन विज्ञान विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले बन्द हडताल जस्त कार्य स्थगनगरी छलफलबाट समस्या समाधान गर्न आन्दोलनरत पक्षलाई अपिल गरेको छ ।
सो कार्यालयले आज अपिल जारी गर्दै शिक्षक कर्मचारी अभाव, भौतिक पूर्वाधार अभाव लगायतका बाबजुद विश्वविद्यालयले कठिनाइपूर्वक सञ्चालन गरिरहेको अवस्थामा सम्बोधन गर्न सक्ने मागलाई सम्बोधन गर्दै बाँकीलाई पनि छलफल र वार्तामार्फत टुयाङ्ग्याउने जनाएको छ ।
कर्मचारी संघ संगठनले सो विश्वविद्यालय केन्द्रिय कार्यालय र संकायमा गत पुस ६ गते देखि तालाबन्दी गरेका छन् ।
तालाबन्दीका कारण दैनिक कार्य संचालनमा अवरोध भएको विश्वविद्यालयले जनाएको छ ।
स्थापनाको बाह्र वर्से अवधिमा ऐनले व्यवस्था गरेको कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको रामपुर कृषि क्याम्पस रामपुर, वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको वन क्याम्पस हेटौंडाको औपचारिक रुपमा त्रिभुवन विश्वविद्यालयवाट स्वामित्व हस्तान्तरण हुन बाँकी रहेको जनाएको छ ।
हाल यस विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावरिधिमा गरी ४ हजार ५०० विद्यार्थी अध्ययनरत छन् । त्यस्तै यस विश्वविद्यालयमा ७५० भन्दा बढी शिक्षक, कर्मचारी कार्यरत छन् ।
विश्वविद्यालयका केन्द्रिय कार्यालय, संकाय, आंगिक कलेज र कृषि विज्ञान केन्द्रमा झन्डै १ हजार २५० जना शिक्षक, कर्मचारी आवश्यक रहेको जनाएको छ ।