After SEE Portal

प्रतिशोधपूर्ण तवरले सरुवा गरेको भन्दै शिक्षक आन्दोलनमा

Bridge Course

सिरहाको लहान नगरपालिकाका विभिन्न अधारभूत विद्यालयमा कार्यरत शिक्षकलाई स्थानीय सरकारले गरेको सरुवा शिक्षा ऐन र नियमावली विपरीत भएको भन्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।

नगर शिक्षा समितिको जेठ २८ गतेको निर्णयका आधारमा साउन १४ गते आधारभूत तहका शिक्षकहरुको सरुवा गरेको भन्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।

नगर शिक्षा समितिले आफूहरुलाई प्रतिशोधपूर्ण तरिकाले सरुवा गरेको हुँदा उक्त निर्णय तत्काल खारेज गरी नियमावली बमोजिम सरुवा गर्नुपर्ने अन्यथा आफूहरु कडा आन्दोलनमा उत्रिने शिक्षक सङ्घर्ष समितिले आज प्रत्रकार सम्मेलन गरी जानकारी दियो ।

स्थानीय सरकारलाई शिक्षकको दरबन्दी मिलान गर्ने अधिकार भए पनि सरुवाको अधिकार केन्द्र सरकारलाई मात्र भएको अवस्थामा नगर शिक्षा समितिले कार्यादेशभन्दा बाहिर गएर एकमुष्ट सरुवा गरेको भन्दै संयुक्त सङ्घर्ष समितिले तत्काल सरुवाको निर्णय रोक्नुपर्ने माग गरेका छन् ।

शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ नवौँ संशोधन कायम रहेको र सङ्घीय शिक्षा ऐन नबनिसकेको अवस्थामा संविधानले स्थानीय तहलाई दिएको २३ बुँदे अधिकारमा शिक्षक सरुवा, बढुवा उल्लेख नरहेकाले सामुदायिक विद्यालयका शिक्षकको सरुवा, बढुवा गर्ने अधिकार शिक्षा विकास तथा समन्वय इकाइलाई मात्र रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक अरविन्दकुमार दासले जानकारी दिए।

शिक्षण अवधि ११ महिनामात्र रहेका महिला शिक्षकलाई अपायक सरुवा र अवकाश प्राप्त शिक्षकको समेत हचुवाको भरमा प्रतिशोधपूर्ण तवरले सरुवा गरिएको भन्दै उनले उक्त सरुवाको निर्णय मान्य नहुने बताए । यसरी एकै पटक सबै शिक्षकको सरुवा नगरेकाले यस्ता सरुवाले शिक्षकको मानसिकता खलबलिएको, गुणस्तरको नाममा सामुदायिक विद्यालयको शैक्षिक वातावरण अझ ध्वस्त बनाउने प्रयास भएको आरोप लगाउँदै शिक्षकहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

शिक्षा समितिले गरेको सरुवा सिफारिस न्यायोचित नभएकाले निर्णय खारेज नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत सङ्घर्ष समितिले दिएको छ । लहान शिक्षा समितिका संयोजक राजकुमार साहले सरुवाको निर्णय सबैको सल्लाह र सुझावकै आधारमा भएको दाबी गर्दै नगरपालिकाले ऐन बनाएरै सरुवाको निर्णय लिएको जानकारी दिए । सरुवाको निर्णयबाट कुनै शिक्षकलाई अप्ठ्यारो परेमा त्यसमा केही सुधार गर्न सकिने उनले बताए ।

A Levels MA
Thuprai - Books and E-books