After SEE Portal

केटाकेटीका निम्ति युट्यूबमा अब स्वरमाला

Bridge Course

केटाकेटीका निम्ति युट्यूबमा वर्णमालापछि अब स्वरमाला

बालबालिकाहरूलाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देस्यले नेपालयले संगीतकार तथा गीतकार आभाससंगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेको छ । ती रचना सुन्न हेर्नका निम्ति छुट्टै च्यानलको संचालन पनि भइसकेको छ ।

नेपाली भाषा सिक्न चाहने संसारभरका नेपाली बालबालिकालाई केन्द्रमा राखेर युट्यूबमा 'नेपाली बाल रचना' https://www.youtube.com/balrachana नामको च्यानल पनि केही महिना पहिल्यै संचालनमा आएको हो । गएको तिहारमा नेपालयले सोही च्यानलमार्फत् बालबालिकाका निम्ति उपहार स्वरुप वर्णमाला (व्यन्जन) सार्वजनिक गरेको थियो । 

अब सोही च्यानलबाट स्वरमाला अथवा अ, आ, इ, ईलाई आधार बनाएर बनेको गीति कार्टुन सार्वजनिक हुने भएको छ । स्वरमालालाई रोचक बनाउनका निम्ति रचनाकार आभासले 'अक्कलमान' नामको चरित्र निर्माण गरेका छन् । 

'अबाट उठ्छ नाम, अक्कलमान हुँ म, अग्लो पर्खाल चढेर, अम्बा टिप्छु म' स्वरहरूलाई चिनाउनका निम्ति हरेक स्वर-अक्षरलाई आभासले यसैगरि चार हरफका गीतमा उनेका छन् । कार्टुन चित्रसहित हेर्न, सुन्न सकिने यो गीतले बालबालिकालाई मनोरञ्जन दिनुकासाथै अक्षर र शब्द ज्ञान बढाउन पनि मद्दत पुर्‍याउने छ ।

'बालबालिकाहरू प्राकृतिक र रिदमिक हुन्छन्, त्यसैले उनीहरूलाई भाका र तालले छिट्टै आकर्षित गर्छन् र सजिलै नयाँ कुरा सिक्छन्; त्यही महसुस गरेर मैले शैक्षिक कुरामा पनि धुन भरेको हुँ । यो संसारभरि सफल भएको सिकाउने उत्तम शैली पनि हो । हाम्रो भाषामा यस्ता रचनाहरू अझ धेरै सृजना गर्नु जरुरी छ ।' सर्जक आभासले भने ।

'वर्णमाला र स्वरमालाका साथै बालबालिकाका निम्ति उपयुक्त गीति रचनाहरूमा थप काम भइरहेको छ । यो शृंखलामा विषयको विविधता समावेश गरिने छ । यसलाई हाम्रो 'बाल रचना' च्यानलमार्फत् सार्वजनिक गर्नुका साथै पुस्तक पनि प्रकाशन गर्ने छौं’ नेपालयका किरणकृष्ण श्रेष्ठले प्रष्ट्याए ।

वर्णमालामा चर्चित गायिकाहरू मीना निरौला र बेनुका राईले स्वर दिएका छन् । स्वरमालामा भने रचनाकार तथा संगीतकार आभासकै स्वर रहेको छ ।

स्वरमालालाई आधार बनाएर बनेको गीति कार्टुन यो लिंक https://www.youtube.com/watch?v=HKSiTz9cbmU मा गएर हेर्न र सुन्न सकिन्छ ।

A Levels MA