एसईई परीक्षा खारेज गर्न सांसदहरुको सुझाव

संसदीय समितिले तत्काल परीक्षा, पठनपाठन र भर्ना अभियानलाई सञ्चालन नगर्न सुझाव दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले वुधबार सरकारलाई तत्काल परीक्षा र विद्यार्थी भर्ना अभियान अघि नबढाउन सुझाव दिएको हो । परिस्थिति जटिल भएको भन्दै समितिले आगामी जेठ २० गतेअघि विद्यार्थी गतिविधिसँग जोडिएका कार्य नगर्न आग्रह गरेको छ ।

समितिका सदस्य गगन थापाले एसईई परीक्षा खारेज गरी आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरुको कक्षा चढाउनुपर्ने बताए । उनले भने, ‘एसईई परीक्षा खारेज गरौं । आन्तरिक मूल्याङ्कन गरेर अघि बढौँं ।’ परीक्षाको मोडेलबारे सोच्नु पर्ने समितिका सदस्यहरुको सुझाव छ । 

समितिका सदस्य सुरेशकुमार राईले परीक्षा र विद्यार्थी भर्नाका सन्दर्भमा योजना बनाएर अघि बढ्नुपर्ने  बताए । उनले भने, ‘प्रदेशलाई संयोजनकारी भूमिका दिनुपर्छ । परीक्षा, भर्ना सन्दर्भमा योजना बनाएर अघि बढ्नु आवश्यक छ ।’ 

समितिका अर्का सदस्य तिलकबहादुर महत क्षेत्रीले विद्यालय खुलेपछि मात्रै विद्यार्थी भर्ना गर्न सरकारलाई सुझाव दिए । समिती सदस्य भैरवबहादुर सिंहले सबै जिल्लामा अनलाइनको पहुँच नभएको भन्दै अनलाइन शिक्षाको सान्दर्भिकतामाथि प्रश्न चिन्ह उठाए । समितिका सदस्य विद्या भट्टराईले विद्यालय शिक्षा कसरी अघि बढाउने भन्ने सन्दर्भमा सरकारले ठोस योजना ल्याउन नसकेको बताइन् ।