Bachelors Portal

वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाइने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ मन्त्रालयले काम थालेको बताएकी छिन् ।

वैदेशिक अध्ययनको सवालमा देशमा गुणस्तरीय उच्च शिक्षा वातावरण निर्माणमा भएका नीतिगत नियमको प्रभावकारी कार्यान्वयनसहित आवश्यक नयाँ ऐन र कानुनको पहिचान गरेर कार्ययोजना बनाउन लागिएको उनले जानकारी दिइन् ।

शिक्षामन्त्री भट्टराईले बिहीबार मन्त्रालयले आयोजना गरेको रुसमा अध्ययन गर्न जाने विद्यार्थी र अभिभावकसँगको अन्तरकृयामा बताउँदै रुससहितका देशमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई पूर्व जानकारी र सचेतना प्रदान गरेर मात्रै अध्ययन अनुमतिपत्र जारी गर्ने लगायतका विषयमा मन्त्रालयको ध्यान आकर्षित गरिएको बताइन् । 

नेपाली विद्यार्थी मात्र नभई विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटिरहेको बताउँदै उनले वैदेशिक शिक्षालाई विशेषीकृत गर्ने खाका तयार गरिने भनिन् ।

उनले कार्यक्रममा प्राप्त सुझावलाई समेटेर आवश्यक नीति र नियम निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अन्तरक्रिया कार्यक्रममा रुसमा वैदेशिक अध्ययन गर्न जाने विद्यार्थी र तिनका अभिभावकले सोसम्बन्धी विभिन्न सुझाव प्रदान गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले उल्लेख गरेको छ।

Thuprai - Books and E-books