After SEE Portal

नतिजा सच्याउन माग गर्दै विद्यार्थी रिले अनसनमा

Bridge Course

पूर्वाञ्चल विश्वविद्यालयले भदौ ९ गते प्रकाशन गरेको बिएससी एजी सातौँ र र भेटेनरीको सातौँ र नवौँ सेमेष्टरको नतिजा सच्याउनु पर्ने विद्यार्थीले माग गरेका छन् ।

अनलाइन प्रणालीमा सञ्चालन गरिएको उक्त तहको परीक्षाको उत्तरपुस्तिका निर्धारित समयमा नै बुझाएका विद्यार्थीको मार्कसिटमा इन्कम्प्लीट देखिएपछि विद्यार्थीले यस्तो माग गरेका हुन् । विद्यार्थीहरु नतिजा सच्याउने माग गर्दै सम्बन्धित कलेजमा  रिले अनसनमा बसेका छन् । विश्वविद्यालयले २०७७ असोज २० देखि उक्त परीक्षा सञ्चालन गरेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालय एकेडेमिक काउन्सिलका अनुसार परीक्षा बिहान ९ बजेदेखि सुरु भएको हो । ९ बजेदेखि सुरु भएको सो परीक्षाको उत्तरपुस्तिका विद्यार्थीले २ बजेभित्र सम्बन्धित कलेजमा पठाइसक्नुपर्ने थियो।

अधिकांश विद्यार्थीहरुले दिउँसो एक बजेदेखि २ बजेभित्र कलेजलाई उत्तरपुस्तिका बुझाइसकेका थिए । तोकिएको समयभन्दा पहिले नै उत्तरपुस्तिका सबमिट गरेका विद्यार्थीको पनि मार्कसिटमा इन्कम्प्लीट देखाएको विद्यार्थीको गुनासो छ । आफूले १२बजेर ३८ मा उत्तरपुस्तिका सबमिट गरेको भए पनि नतिजा अपुरो देखिएको विद्यार्थी राकेश ओझाले बताए । ‘बिएससीएजी सातौं सेमेष्टरको परीक्षार्थी हुँ, मैले बायोस्ट्याटिक्स विषयको परीक्षाको उत्तरपुस्तिका १२बजेर ३८ मिनेट जाँदा कलेजमा सबमिट गरेको थिएँ ।’ उनले भन, ‘कलेजले पनि उत्तरपुस्तिका प्रमाणीकरण गरेको भनेर नोटिस दिएको थियो तर, के गर्नु नतिजा इन्कम्प्लिट आयो ।’

चितवनस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युट कलेज, मोरङस्थित जीपीसीएआर कलेज र काठमाडौंको केही कलेजको नतिजा प्रति विद्यार्थीहरु रुष्ट देखिएका छन् । एकातिर कोरोनाको मार अर्कातिर सम्बन्धित निकायको बेवास्ताका कारण आफ्नो भविष्य नै अन्धकारतिर धकेलिएको परीक्षार्थी तपेश रावल बताउँछन् । ‘मेरो मात्र होइन ‘धेरै साथीको मार्कसिटमा इन्कम्प्लीट भन्ने देखिएको छ ।’ उनी भन्छन्, ‘हामीले उत्तरपुस्तिका बुझाएको रेकर्ड हामीसंग छ तर नतिजा यस्तो आयो, हामी मारमा पर्यौ, तोकिएको समयभित्रै उत्तरपुस्तिका बुझाए पनि नतिजामा ‘आई’ लेखिएर आयो यसलाई तत्काल सच्याउनुपर्छ भन्ने चाहन्छौं।’

उक्त तहको विश्वविद्यालयले ‘टाइम बाउण्ड होम इक्जाम’ लिएको थियो । हिकाष्ट कलेजले नतिजाका विषयमा विश्वविद्यालयलाई जानकारी गराइसकेको जानकारी दियो । कलेजका अनुसार नतिजामा त्रुटि देखिएको हुँदा भोलि नै विश्वविद्यालयमा विवरण पठाउँने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायको परीक्षा टाइम बाउण्ड होम इक्जाम लिँदै आएको छ । उक्त परीक्षामा कलेजले विश्वविद्यालयको नियमानुसार निश्चित समयमा उत्तरपुस्तिका पठाउन विद्यार्थीलाई निर्देशन दिन्छ । कलेजको निर्देशन अनुसार विद्यार्थीले अनिवार्य रुपमा तोकिएको समयमा उत्तरपुस्तिका सबमिट गर्नुपर्छ ।

तत्कालीन परीक्षा नियन्त्रक सूर्य संग्रौला विद्यार्थीको पक्षबाट कमजोरी नभएको स्वीकार गर्छन् । उनका अनुसार प्राविधिक समितिको नेतृत्व र उपकुलपति यसमा मुख्य जिम्मेवार रहेको संग्रौलाको दाबी छ । ‘समस्या भएकै हो, यसको दीर्घकालीन समाधान गर्नैपर्छ अन्यथा विद्यार्थीको भविष्यमा खेलवाड हुन्छ ।’ उनी भन्छन्, ‘प्राज्ञिक परिषदले यस समस्याको तत्काल समाधान गर्नुपर्छ ।’

 

 

A Levels MA
Thuprai - Books and E-books