Edusanjal

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी, २१ चैतः  बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी खनजोतमा प्रयोग हुने हाते ट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन भएको हो ।

कक्षा ८, ९ र ११ का २० जना विद्यार्थीहरुका लागि १९ दिने हाते ट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष अणबहादुर खड्का (भगवान)ले जानकारी दिनुभयो ।

“खेतबारी खनजोतमा गोरुको विकल्पमा प्रयोग भइरहेको हाते ट्याक्टरमा समस्या आउँदा मर्मत गर्ने जनशक्ति गाउँघरमै तयार पार्न परीक्षापछिको फुर्सदको समयमा तालिम दिएका हौँ”, उहाँले भन्नुभयो, “सीप सिकेपछि विद्यार्थीहरुलाई दैनिक जीवनका साथै पेसा, व्यवसाय गर्न प्रेरित गर्न सीपमूलक तालिम दिने गरेका छौँ ।”

यसअघि विद्यार्थीहरुलाई च्याउखेती, अतिथि सत्कार, रङरोगन र मुढा बुन्ने तालिम दिइएको थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न १६ वटा विद्यालयका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । ‘हाउस वायरिङ’, ‘प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक लाखका दरले बजेट उपलब्ध गराएको छ ।

pre school