विद्यालय पुनःनिर्माण नभएपछि आठ वर्षदेखि टहरामा कक्षा

दोलखाको जिरीलगायत आसपासको केही क्षेत्रलाई मध्यनजर गरी विसं २०१७ मा दोलखाको जिरीमा स्थापना भएको जिरी माध्यमिक विद्यालय विसं २०७२ मा आएको विनाशकारी भूकम्पका कारण पूर्ण रुपमा क्षति भयो ।

विद्यालयका भौतिक संरचना पुनः प्रयोग गर्न नमिल्ने गरी भूकम्पले क्षति गरेपछि हालसम्म विद्यालयको भौतिक संरचाना निर्माण हुन नसक्दा विगत आठ वर्षदेखि जस्ताको अस्थायी सिकाइ केन्द्रमा कक्षा सञ्चालन हुँदै आएको छ ।

बाल कक्षादेखि उच्च शिक्षासम्म अध्यापन हुँदै आएको जिरी माध्यमिक विद्यालयमा विद्यालयको भवन नभएपछि सबै कक्षा जस्ताको अस्थायी टहरामा कक्षा सञ्चालन हुँदै आएको छ ।

नगरपालिका भित्रका अन्य सबै विद्यालयमा पक्की भवन निर्माणको काम सम्पन्न भईसकेको भए पछि जिरी माध्यमिक विद्यालयको भवन निर्माणको काम सुरुआत हुन सकेको छैन ।

जिरी माध्यमिक विद्यालय भूकम्पपछि चीन सरकारले पूर्ण अनुदानमा निर्माण गरी दिने सहमति भएको थियो ।

चीनको विद्यालयको लागि आवश्यक सबै भौतिक संरचना निर्माण गर्ने सहमति भएको भएता पनि हालसम्म विद्यालय पुन निर्माणका लागि कोहि पनि विद्यालयमा नआएको विद्यालयका प्रधानध्यापक कुमार जिरेलले बताए ।

भूकम्प गएको केही महिनापछि विद्यालय निर्माणको लागि चीन सरकारसँग पुनः निर्माण प्राधिकरण शिक्षा समन्वय एकाइमार्फत विद्यालयको सम्झौता भए पछि स्थलगत अवलोकणको लागि प्राविधिक विद्यालयमा आएको र भत्किएको सबै संरचना हटाएर ठाउँ तयार गर्न लगाएपछि हालसम्म विद्यालय निर्माणको लागि उक्त टोली नफर्किएको प्रधानध्यापक जिरेलले बताए ।

जिरी माविको लागि आवश्यक पर्ने कक्षाकोठा तथा पुस्तकालय, प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, खेल मैदान, चमेना गृहसहित करिब एक अर्बको लगानीमा सन २०१५ देखि पुनःनिर्माणको काम सुरु गर्ने गरी सम्झौता भएको थियो ।

तत्काल नै काम सुरु गर्ने भएपछि विद्यालयले आवश्यक २८ वर्ग मिटर जमिन खाली गरी राखेको छ । तत्काल काम सुरु गर्ने सहमति भए पनि कोरोना महामारी का कारण देखाउँदै चीन सरकारले तत्काल काम अघि नबढाएको प्रधानध्यापक जिरेलले बताए ।

उच्च शिक्षासम्म अध्ययन हुने जिरी माध्यमिक विद्यालयमा हाल विभिन्न कक्षामा गरी छ सय ६५ विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।

लामो समयदेखि टहरामा अध्ययन गराउँदा विद्यार्थीलाई समस्या हुने गरेको शिक्षकले गुनासो गरेका छन् । घाम लाग्ने समयमा जस्ताले अत्यधिक तातो हुने र वर्षाको समयमा पानी पर्दा जस्ता बजेर पढ्नका लागि समस्या हुने गरेको विद्यार्थीको गुनासो रहेको छ ।

विद्यालय निर्माणका लागि चीन सरकारसँग सम्झौता भई सकेका कारणले जिरी नगरपालिका भित्रका अन्य सबै विद्यालय पुनः निर्माण हुँदा पनि जिरी माविमा नगरपालिकले लगानी गरेर पुनः निर्माणको काम नगरेको जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले बताए । जति सक्दो चाँडो विद्यालय पुनः निर्माणको काम सुरु गर्नका लागि चीन सरकारसँग नगरपालिकाले समन्वय गरी रहेको बताए ।

विद्यालय निर्माणका लागि आवश्यक पर्ने सडक, विद्युत्, पानीलगायत सबै पूर्वाधार नगरपालिकाले तयारी गरी सकेको छ । पुनः चीन सरकारसँग जति सक्दो चाँडो विद्यालय निर्माणको लागि आग्रह गर्ने र नभएमा अन्य स्रोत खोजेर भए पनि नगरपालिकाले पुनः निर्माण गरिने नगर प्रमुख जिरेलले बताए ।

Thuprai - Books and E-books