सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोशी–९, लोखिम कुरिमा स्थित श्री लामु डाँडा आधारभूत विद्यालयमा खानेपानीको गम्भीर समस्या

श्री लामु डाँडा आधारभूत विद्यालय, थु दु–९, लोखिम कुरिमा, मा लामो समयदेखि खानेपानीको अत्यन्तै गम्भीर समस्या रहेको छ। महिनौँदेखि विद्यालयमा पिउने पानीको अभाव छ, जसका कारण विद्यार्थी तथा शिक्षकहरू चर्पी प्रयोग गर्नसमेत नसक्ने अवस्था सिर्जना भएको छ। बाध्यतावश उनीहरू नजिकैको जंगलमा जानुपरेको छ, जुन अत्यन्त असहज र असुरक्षित अवस्था हो।

स्रोत: रामकुमार राई (प्रधानाध्यापक)

स्रोत: रामकुमार राई (प्रधानाध्यापक)

बर्खाको समयमा विद्यालय परिसरका सम्पूर्ण फोहोरहरू नजिकैको खोल्साबाट बग्दै तलको लोखिम गाउँतिर पुग्ने भएकाले सो क्षेत्रका बासिन्दाले प्रयोग गर्दै आएको खानेपानीको स्रोतमा प्रदूषण पुग्ने र रोगहरूको संक्रमण फैलिने अत्यधिक सम्भावना देखिन्छ।

पिउने पानीको व्यवस्था नहुँदा विद्यार्थीहरू घरबाट नै पानी बोकेर ल्याउन बाध्य छन्। विद्यालयमा पानीको अत्यधिक अभाव भएकाले पानीका लागि विद्यार्थीहरूबीच खोसाखोस हुने अवस्था छ। यसले पठनपाठनको वातावरणलाई नकारात्मक असर पुर्‍याएको छ।

यस्तो दयनीय अवस्थाले गर्दा धेरै विद्यार्थीहरू अन्य विद्यालयमा जान थालेका छन्, जसका कारण विद्यालयको छात्र संख्या दिनप्रतिदिन घट्दो क्रममा छ।

श्री लामु डाँडा आ.वि. भौगोलिक रूपमा विकट तथा टाढो स्थानमा रहेको विद्यालय हो। यस क्षेत्रको अन्य विद्यालयहरूसम्म पुग्नका लागि दशौं किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ, जसले बालबालिकाको शिक्षामा थप बाधा उत्पन्न गरेको छ।

यति गम्भीर समस्या हुँदाहुँदै पनि सम्बन्धित सरोकारवाला निकायहरू पूर्ण रूपमा मौन छन्। तत्काल यो समस्याको समाधान नभएमा यसले शिक्षा, स्वास्थ्य तथा वातावरणमा दीर्घकालीन असर पुर्‍याउने निश्चित छ।