A Levels MA

सुरक्षाकर्मी खटाएरै एसईई

माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा रहनुभएका विद्यार्थीले कोरोना महामारीमा परीक्षाबाट सजिलै पार पाइने सोच्नुभएको छ भने तपाईँको सोच पूर्ण गलत हुनेछ । गएका दुई वर्षको जस्तो परीक्षा विधि अब हुँदैन । २०७५ सालसम्म जुन विधिबाट परीक्षा सञ्चालन गरिन्थे, ठिक त्यस्तै विधि यसपटकबाट पुनः अपनाइने भएको छ ।

यतिबेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले परीक्षा व्यवस्थापनसम्बन्धी तयारीलाई निकै अगाडि बढाइसकेको छ । २०७८ सालको एसईईमा परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन हुनेछ । परीक्षा केन्द्रमा विगत जस्तै सुरक्षाकर्मी परिचालन गरिनेछ ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, “होम सेन्टर कायम हुने गलत हल्ला हो । होम सेन्टर कायम गरिनेछैन । विगतमा जस्तै फरक विद्यालयमा कायम रहेको परीक्षा केन्द्रमा परीक्षा दिनुपर्ने हुन्छ ।”

यस वर्षको एसईईका लागि विशेषज्ञहरुले प्रश्नपत्र तयार गरिरहेका छन् । पनिकाले विगत दुई वर्षमा प्रयोग नभएका प्रश्नलाई पनि प्रश्नबैँकका रुपमा प्रयोग गर्ने भएको छ । विशेषज्ञले तयार गरेका केही र विगतका केही प्रश्नलाई मिलाएर नयाँ प्रश्नपत्र तयार गरिनेछ । यस वर्षको परीक्षा सकिएपछि २०७९ सालका परीक्षार्थीका लागि अभ्यास गर्न २०७६ र २०७७ सालका प्रश्नपत्रलाई वेबसाइटमा राख्ने योजना पनि पनिकाले बनाएको छ ।

प्रश्नपत्र छपाइका लागि करिब २१ करोड रुपियाँ विनियोजन गरिएको छ । जनक शिक्षा सामग्री केन्द्रको सुरक्षण मुद्रणालयमा प्रश्नपत्र छापिनेछ । यसै साताबाट प्रश्नपत्र छपाइ थालिनेछ । करिब एक महिना लगाएर प्रश्नपत्र छपाइ हुनेछ । आगामी चैत मसान्तसम्ममा प्रश्नपत्रलाई सम्बन्धित जिल्लामा पठाइसक्ने योजना बनाइएको छ ।

परीक्षा नियन्त्रक रायमाझीले अनलाइनबाट प्रश्न पठाउने र सम्बन्धित परीक्षा केन्द्रले छपाइ गरेर वितरण गर्ने चर्चा चले पनि त्यसको निर्णय नभएकाले प्रश्नपत्र छपाएर पठाउन थालिएको बताए ।

उनका अनुसार परीक्षा केन्द्रमा विगतको जस्तो धेरै सुरक्षाकर्मी परिचालन गरिनेछैन । विगतमा प्रतिपरीक्षा केन्द्रमा १० जना सुरक्षाकर्मी परिचालन गरिन्थ्यो । उनले यसपटक सुरक्षाकर्मी न्यून परिचालन हुने बताए । आज सुरक्षा व्यवस्थापनका लागि सुरक्षा समितिको बैठक बस्दैछ ।

यस वर्षको परीक्षा आगामी वैशाख ९ गतेबाट सञ्चालन हुँदैछ । परीक्षामा करिब पाँच लाख विद्यार्थी सम्मिलित हुनेछन् भने करिब दुई हजार परीक्षा केन्द्र कायम हुनेछ ।

 

 

Thuprai - Books and E-books