Bachelors Portal

विद्यार्थीलाई अचार बनाउ सिकाउदै विद्यालय

गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई  अचार बनाउ सिकाउन थालेको छ ।

पढाइलाई सिपसंग जोडेर आयआर्जन गर्न सिकाउने  लक्ष्य सहित विद्यालय विद्यार्थीलाई स्थानीय उत्पादनबाटै अचार बनाउन सिकाउन थालेको हो ।

विद्यार्थीलाई विद्यालयमा अचार बनाउन सिकाएर आयआर्जनसँग जोड्न थालिएको विद्यालयका शिक्षक एवं सिक्दै कमाउँदै कार्यक्रमका संयोजक अनुपबाबु श्रेष्ठले जानकारी दिए ।

विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई  विद्यालय हाताभित्र लप्सीको अचार उत्पादन गर्न सुरु गरेको  छ । स्थानीय बजारमा नै विद्यार्थीले उत्पादन गरेको अचार खपत हुँदै आएको छ । उनका अनुसार प्रतिबट्टा रु १५० मा बिक्री भइरहेको  छ । ‘कम्पाउण्डभित्रै लप्सी लटरम्मै फलेर खेर गइरहेको थियो, त्यसैलाई उपयोग गर्दै विद्यार्थीले अचार उत्पादन थालेका छन्, त्यसले राम्रो प्रभाव पनि पारेको छ ।’, उनले भने, ‘भर्खरमात्र उत्पादन सुरु गरिएकाले राम्रो पनि भइरहेको छ, विद्यालयकै जग्गामा आँपका रुखसमेत प्रशास्त भएकाले अब यामअनुसार आँपलगायतको अचार उत्पादन गर्न थाल्ने विद्यालयको योजना छ ।’स्थानीयस्तरमा उत्पादित तर खेर गइरहेको कृषि उत्पादनबाट पनि राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने सन्देश पुगेको बताए ।

स्थानीय कृषि उपजलाई प्रयोग गरेर आयआर्जन गर्न सिकाउने लक्ष्य सहित विद्यालयले उक्त कार्य सुरु गरेको हो । अहिले ८ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीले अचार बनाउन सुरु गरेका छन् ।  उत्पादित अचारमा विद्यालयले आफ्नो विद्यालयको ‘स्टिकर’ टाँसेर बिक्री गरिरहेको  छ ।  ‘उत्पादन गर्न सके बिक्छ भन्ने पनि लागेको छ, एउटै व्यक्तिले १५ बट्टासम्म माग गर्दा एक बट्टा दिन पनि सकिएको छैन ।’ उनले भने, ‘अहिले त विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई पनि पुर्याउन गाह्रो छ ।’

Thuprai - Books and E-books