पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न

​पर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको पाँच वर्षको अवधिमा पुनःनिर्माणको प्रगति सार्वजनिक गर्दै ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिएको हो ।

पहिलो चरणमा सम्झौता भएका विद्यालयको पुनःनिर्माण सकिए पनि दोस्रो चरणमा सम्झौता भएका ७१ विद्यालयको पुनःनिर्माण गर्न बाँकी नै रहेको कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लामा विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएका १५३ विद्यालय पुनःनिर्माणको सूचीमा थिए । 

जिल्लामा १५३ विद्यालयको पुनःनिर्माण, ४४ विद्यालयको शौचालय र ४१ विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ । कार्यालय प्रमुख शर्माले कोरोना सङ्क्रमणका कारण गत वर्ष काम गर्न समस्या भए पनि कोरोना नियन्त्रणउन्मुख भएपछि विद्यालय पुनःनिर्माणले गति लिएको बताउनुभयो ।

कोरोना नियन्त्रणपश्चात तीनवटा विद्यालयले फिनिसिङको काम गरिरहेकाले यो महिनाभित्र काम सक्ने जानकारी दिनुभएको छ । आगामी पुससम्ममा सबै विद्यालयको पुनःनिर्माण सक्नुपर्ने बाध्यता छ । पुनःनिर्माण प्राधिकरणको म्याद पुससम्म रहेको र त्यसपछि म्याद थपिने कि नथपिने भन्ने कुरा सरकारकै हातमा रहेको हुँदा सकेसम्म पुससम्म सबै काम सक्ने हतारोमा रहेको शर्माले बताउनुभयो ।

जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० विद्यालयमा दुईकोठे, चार विद्यालयमा तीनकोठे र ३९ विद्यालयमा दुईकोठे भवन निर्माण गर्ने सम्भौता भएको थियो । अधिकांश विद्यालयको पुनःनिर्माणको प्रगति ६५ प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । 

भवन निर्माणको काम सकेका विद्यालयका बालबालिका भूकम्प प्रतिरोधी भवनमा बसेर पढ्न पाएका छन् । भूकम्पले विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई पहिलो प्राथमिकता र केही मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुनःनिर्माण गर्ने गरी कार्यालयले कार्ययोजना बनाएको थियो । सोहीअनुसार विद्यालयका भवन पुनःनिर्माण भइरहेको कार्यालयले जानकारी दिएको छ ।