भूकम्प प्रभावित ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न

म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीमा ५६ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना प्रमुख तुलाराज चौलागाईले हालसम्म २२ वटा दुई कोठे, नौ वटा तीन कोठे र २५ वटा चार कोठे भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

“चालू आर्थिक वर्ष २०७७÷७८ मा ३७ वटा चार कोठे, तीन वटा तीन कोठे, १० वटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन्”, उहाँले भन्नुभयो, “२२ वटा शौचालय र दुई वटा खानेपानी आयोजनाको निर्माण सकिएको छ । २८ शौचालय र २५ खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन् ।” उहाँका अनुसार कक्षाकोठा भवन पुनःनिर्माणमा रु २८ करोड ७४ लाख ६५ हजार १५३ खर्च भएको छ । यसैगरी शौचालयमा रु तीन करोड ६४ लाख, ६१ हजार ९२ र खानेपानी आयोजना निर्माणमा रु ५७ लाख ५० हजार ८२० खर्च भएको छ ।

भूकम्पले क्षति पुगेका १०५ विद्यालयका ३४४ कक्षाकोठामध्ये १७१ को निर्माण सम्पन्न भइसकेका छन् भने १७३ कक्षाकोठाको निर्माण अन्तिम चरणमा पुगेका छन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका रितुङ माबी, रघुगङ्गा–८, घ्याँसीखर्कका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले बताउनुभयो ।

प्राधिकरणले चार कोठे भवनलाई रु ७० लाख ४० हजार, तीन कोठेलाई रु ३५ लाख ८० हजार, दुई कोठेलाई रु २३ लाख ९० हजार, शौचालयलाई रु १५ लाख र खानेपानी आयोजनालाई रु सात लाख ४० हजारका दरले अनुदान उपलब्ध गराएको छ । यो अनुदान रकम कर र आयोजना व्यवस्थापन खर्चसहित अधिकतम हो । टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुनेगरी लागत अनुमान तयार पारिएको छ ।

वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउँदा भवन निर्माण गरेको तीन महीनासम्म पनि भुक्तानी नपाएको कैलाश मावि दोवाका प्रअ शीरबहादुर गर्बुजाले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिअन्तर्गत उपभोक्ता समितिमार्फत भवन निर्माण योजना कार्यान्वयन गर्ने कार्यविधि छ । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग, उपभोक्ता समितिले गर्नुपर्ने काम ठेकेदारलाई दिने र ढिलासुस्ती मुख्य विद्यालय भवन पुनःनिर्माणमा देखिएका चुनौती हुन् ।

Thuprai - Books and E-books