Bachelors Portal

रामराजाप्रसाद सिंह प्रतिष्ठानको तयारी

राजविराजमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ कार्यालय सञ्चालन हुने भएको छ । प्रतिष्ठानको कामलाई तिव्रता दिन पूर्वाधार तयारी विकास समितिको कार्यालय तीन दिनभित्र सञ्चालन गरिने गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ ।

प्रतिष्ठानको कार्यालय सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयबाट एक टोलीसमेत राजविराज आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिनुभयो । पूर्वाधार तयारी विकास समितिका सदस्य–सचिव तथा कार्यकारी निर्देशक सञ्जय ठाकुर स्वयंम् प्रतिष्ठानको कार्यालय चाँडो सञ्चालन गर्न जुट्नु भएको छ ।

कार्यालय व्यवस्थापनमा जुटेको जानकारी दिँदै निर्देशक ठाकुरले तत्कालका लागि राजविराजस्थित अस्पतालमा कार्यालय सञ्चालन गरी आवश्यक गतिविधि सञ्चालन गरिने बताउनुभयो । मन्त्रिपरिषद् बैठकले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ पूर्वाधार तयारी विकास समिति (गठन) आदेश पारित गरिसकेको उहाँले जानकारी दिनुभयो । नौ सदस्यीय समितिमा पदेन सदस्यको टुङ्गो लागिसकेको र सरकारले नियुक्त गर्ने पदाधिकारी तथा सदस्यको टुङ्गो लागेपछि समितिले पूर्णता पाउने जनाइएको छ ।

समितिको पहिलो बैठक बसेको मितिले २५ महिना वा प्रतिष्ठान व्यवस्थापन गर्ने सम्बन्धमा जारी भएको ऐन प्रारम्भ भएको मितिले ४५ दिनभित्र समितिले आफ्नो काम सम्पन्न गर्नेछ । “समिति गठन आदेशानुसार समितिको पदावधि २५ महिनाको छ”, ठाकुरले भन्नुभयो, “तर, हामी आफनो जिम्मेवारी एक वर्षभित्रै नर्सिङ्ग कलेजको भवन निर्माण सम्पन्न गर्ने गरी काममा जुट्नेछौँ ।”

हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सरकारको नीतिअनुसार प्रदेश नं २ को राजविराजमा सो प्रतिष्ठान निर्माण गर्न लागिएको हो । मन्त्रिपरिषद्को गत पुस २३ गतेको बैठकले राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानका लागि राजविराज नगरपालिका–१० स्थित बिरौल चोकमा ६२ विघा जग्गा उपलब्ध गराएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का शिक्षाध्यक्ष डा सुबोध अधिकारीको संयोजकत्वमा गठित ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सुझाव समिति’ले यही वैशाख ६ गते प्रतिष्ठान निर्माणस्थलको निरीक्षण गरेको छ ।

यसअघि प्राविधिकको टोलीसहित आउनुभएका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जग्गाको निरीक्षण गरी प्रतिष्ठानको कामलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिनुभएको थियो ।

Thuprai - Books and E-books