–नारायण ढुङ्गाना/ सुभानु आचार्य, विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहभागिता रहने गरी ‘अनुसन्धान तथा नवप्रवर्तन कोष’ स्थापना गर्ने सङ्कल्पसहित १२ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन काठमाडौँमा सकिएको छ ।
सरकारी, गैरसरकारी, उद्योग, बैंकजस्ता सेवाप्रदायक सङ्घसंस्थाबाट मुनाफाको न्यूनतम एक प्रतिशत आउने गरी कोष स्थापना हुने जनाइएको छ । नेपाललगायत विभिन्न देशबाट झण्डै ४०० वैज्ञानिकको सहभागिता रहेको सम्मेलनले राष्ट्रिय आवश्यकताका आधारमा अनुसन्धानउन्मुख प्रणाली स्थापना गरी केन्द्रीकृत संस्थामार्फत अनुसन्धानका गतिविधि अगाडि बढाउने निष्कर्षसमेत निकालेको छ ।
नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनको निष्कर्षबारे जानकारी दिँदै कार्यक्रम संयोजक डा निरोज पाण्डेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा योगदान पु¥याउने गरी घोषणापत्र पारित गरिएको बताउनुभयो ।
राष्ट्रिय आवश्यकताअनुसार क्षेत्र निर्धारण गरी विषयगत विज्ञ सहभागी एक कार्यदल निर्माण गर्ने, विज्ञान र प्रविधिका क्षेत्रमा अध्यापन, अनुसन्धान गर्ने सङ्घसंस्थाका चुनौतीको पहिचान गरी सुधारका लागि सिफारिस गर्न अर्काे कार्यदल निर्माण गर्ने प्रस्ताव पारित गरिएको डा पाण्डेले जानकरी दिनुभयो ।
सम्मेलनले तत्कालका लागि रु तीन अर्बको लगानीसहित विशिष्ट योजना लागू गर्ने, युवा प्रतिभा प्रवद्र्धन कार्यक्रमानुसार सम्भावनायुक्त प्रस्तावलाई व्यवसायीकरण गर्ने र सार्वजनिक नीति साझेदारी उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने निष्कर्षसमेत निकालेको छ ।
यस्तै अनुसन्धान नवप्रवर्तन सहजीकरण कार्यक्रमसँगै जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अनुसन्धान, विकास र सेवाका लागि विभिन्न क्षेत्रको गुणस्तर मापन गर्न ‘केन्द्रीय मानक प्रयोगशाला’ स्थापना गरिने सम्मेलनले प्रस्ताव पारित गरेको छ ।
संयोजक डा पाण्डेका अनुसार युवा वैज्ञानिक मञ्च निर्माण गर्ने, राष्ट्रिय नीति, अनुसन्धान र विशिष्टीकृत अनुसन्धान केन्द्र निर्माण गर्ने र समसामयिक वैज्ञानिक शिक्षा कार्यक्रमका साथै विज्ञान वर्ष मनाउन नेपाल सरकारलाई आग्रह गर्ने सम्मेलनले निष्कर्ष निकालेको छ ।
‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने नाराका साथ यही कात्तिक ४ गतेदेखि आयोजना भएको सम्मेलनमा विज्ञान र प्रविधिसम्बन्धी १८ विषयमा ६५ कार्यपत्र प्रस्तुत भएको थियो ।
प्रविधिको प्रयोगविना विकास सम्भव छैन : प्रधानमन्त्री ओली
सम्मेलनको समापन समारोहलाई आज श्रब्यदृष्यमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको प्रयोगविना विकास सम्भव नरहेको बताउनुभएको छ । विकास र उत्पादनमा विज्ञान र प्रविधिको प्रयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राजनीतिक सङ्क्रमणकाल टुङ्ग्याएर संविधान जारी गरी निर्वाचनपश्चात् मुलुक समृद्धिको सपना पूरा गर्नेतर्फ अग्रसर भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोमा अघि बढेकाले अहिले देशविदेशमा रहेका वैज्ञानिकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ मुलुक अघि बढिरहेका बेला ज्ञान सीपको आदानप्रदान गरी विज्ञान र प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । “प्राप्त प्रविधिको हस्तान्तरण र नयाँ प्रविधिको विकास गरेर अघि बढ्नुपर्छ, पूराना मूल्यवान कुराहरुको संरक्षण र नयाँ प्रविधिको विकास आवश्यक छ”, प्रधानमन्त्रीले भन्नुभएको छ । उहाँले समृद्धिको मार्गमा अघि बढेको मुलुकका लागि युवा वैज्ञानिक सम्मेलनको निष्कर्ष उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
विज्ञान र प्रविधिका क्षेत्रमा अनुसन्धान गर्न अनुदान दिइने : शिक्षामन्त्री पोखरेल
सरकारले विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन अनुसन्धानका लागि अनुदान दिने भएको छ । आज राजधानीमा उक्त सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले अध्ययन अनुसन्धानका लागि अनुदान दिने निर्णय गरेको जानकारी दिनुभयो ।
सम्मेलनबाट आज जारी गरिएको सङ्कल्प प्रस्तावका कतिपय विषय सरकारले नै सम्बोधन गर्नुपर्ने खालका रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले मन्त्रालयले गर्नसक्ने विषयमा कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
“दिगो विकास लक्ष्यप्राप्त गर्न प्रविधिको प्रयोग अपरिहार्य छ, सामान्य ढङ्गले हिँडेर पुग्दैन, गति बढाउनुपर्छ”, उहाँले भन्नुभयो । विज्ञान र प्रविधिको क्षेत्रलाई प्रशासनिक ढङ्गले सम्बोधन गरेर नहुनेसमेत उहाँले बताउनुभयो ।
बालबालिका तहदेखि नै अनुसन्धानमूलक शिक्षाको खाँचो रहेको औँल्याउँदै उहाँले विज्ञान नीति बनेको र शिक्षा नीति तयार गरेर मन्त्रिपरिषद्मा छलफल भएकाले टुङ्ग्याउनका लागि आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का उपकुलपति डा सुनिलबाबु श्रेष्ठले देश विदेशमा रहेका वैज्ञानिक एकजुट हुने हो भने विज्ञान र प्रविधिका क्षेत्रमा देशले फड्को मार्ने बताउनुभयो । राष्ट्रिय युवा परिषद् नेपालका उपाध्यक्ष माधव ढुङ्गेलले राष्ट्रको विकासका लागि विषयगत विशिष्टीकरणको आवश्यकता रहेको औँल्याउनुभयो ।