Bachelors Portal

पदकको सट्टा प्रमाणपत्रबाटै टार्ने प्रस्ताव

Managed Admission 2022

सर्वोत्कृष्ट विद्यार्थीलाई पदक दिन राज्यसँग स्रोत अभाव भएपछि प्रमाणपत्रमै सीमित गरिने भएको छ ।

गत वर्षको राष्ट्रिय शिक्षा दिवसमा सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरिएको विद्याभूषण तयार गर्न राज्यसँग स्रोत नभएपछि प्रमाणपत्रबाट टार्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउन लागिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्याभूषण वितरणसम्बन्धी निर्देशिका संशोधन गर्न मन्त्रिपरिषद्मा पठाउन प्रस्ताव तयार गरेको बुझिएको छ । 

मन्त्रालय उच्च स्रोतका अनुसार पदक वितरण गर्न नसक्दा प्रमाणपत्र उपलब्ध गराइनेछ भन्ने बुँदा सो निर्देशिकामा थप गर्नेगरी संशोधन गर्न लागिएको हो । सोहीअनुरुप टिप्पणी अगाडि बढाइएको छ ।

निर्देशिकामा पदक राष्ट्रपतिबाट वितरण हुने उल्लेख भएकाले गत वर्षका ९६२ जनालाई र यस वर्षको राष्ट्रिय शिक्षा दिवसमा थप हुने अन्यलाई राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका कारण उनका हातबाट दिन सम्भव नहुने भएकाले यस विषयलाई पनि के गर्ने भन्ने बारेमा मन्त्रालयमा छलफल भइरहेको थाहा भएको छ ।

“आज प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन पाए हुन्थ्यो भन्ने छ” मन्त्रालय सूत्रले भने, “भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट टुङ्गो लाग्ने विश्वास गरेका छौँ तर प्रस्ताव हामी (शिक्षा मन्त्रालय) कहाँबाट आज उता लैजान सक्छौँ कि सक्दैनौँ भन्ने छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका बेला राष्ट्रिय शिक्षा दिवसको मिति टुङ्गो लाग्न सकेको थिएन । उनलाई असोज २ गते उपयुक्त लागेको थिएन । त्यसैले उनका पालामा मितिका बारेमा निर्णय हुनसकेको थिएन । गत वर्ष अशोक राईले असोज २ गतेलाई शिक्षा दिवस मनाउने भनी प्रस्ताव गरेपछि पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले सोही मितिलाई सदर गरेको थियो । अब पुनः केपी शर्मा ओली प्रधानमन्त्री भएकाले मितिमै विवाद हुनसक्ने भनाइ शिक्षा मन्त्रालयका पदाधिकारीको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १० महिनाअघि राष्ट्रिय शिक्षा दिवसका अवसरमा २०८० भदौ ३१ गते विभिन्न ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने निर्णय गर्दै सर्वोत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको थियो । तर रकम जोहो हुन नसक्दा प्रमाणपत्र थमाउने सुरसारमा मन्त्रालय छ । 

मन्त्रालयका जिम्मेवार पदाधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ मा विद्याभूषण निर्माण गर्न बजेट विनियोजन भएको छैन । मन्त्रालयले विद्याभूषण पदक निर्माण गर्न गत आर्थिक वर्ष २०८०÷८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो । त्यतिका विभूषण तयार गर्न करिब चार करोड रुपियाँ लाग्ने भनी ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएपछि रकम अभावले निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । सो कार्यालयले राज्यले प्रदान गर्ने विभिन्न मानपदवि तथा विभूषण तयार गर्ने गरेको छ । विगतमा नेपाली सेनाको आर्सनलमा शिक्षा पदक बनाउने गरिएकोमा गत वर्ष घरेलुमै दिने निर्णय भएको थियो ।

आवश्यक रकमका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयसँग पत्राचार गरेको थियो । अर्थ मन्त्रालयबाट रकम प्राप्त हुन सक्ने अवस्था नदेखिएपछि मन्त्रालयले विनियोजित बजेटभित्रैबाट रकमको जोहो गरेर विभूषण तयार गर्ने योजना बनाएको थियो । 

मन्त्रालयले आफ्नो वेबसाइटमा गत असोज २ गते शिक्षा दिवसमा विभूषण प्राप्त गर्नेहरूको नामावली सार्वजनिक गरेको थियो । राष्ट्रिय शिक्षा दिवसको मिति टुङ्गो नलागेकाले तीन वर्षसम्म दिवस मनाइएन र विभूषणका लागि पनि नाम घोषणा भएन । गत वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएपछि विभूषणका लागि आवेदन माग गरिएको थियो । गत वर्षबाट विभूषणको नयाँ डिजाइन बनाइएको थियो । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । 

नाम सार्वजनिक भएपछि घोषित विद्यार्थीहरूले शिक्षा मन्त्रालयमा सम्पर्क गर्न थालेका थिए । उनीहरूले कहिले विभूषित गरिन्छ भनेर जिज्ञाशा राख्दै आएका थिए । समय अभावले विभूषण तयार गर्न सम्भव नभएको भन्दै गत फागुन ७ गते विशेष समारोहको आयोजना गरेर विभूषण प्रदान गर्ने जनाउ पुरस्कृत भएकाहरूलाई मौखिक दिने गरिएको थियो । २०३२ सालदेखि हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएकोमा गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिनमा मनाउन थालियो । राष्ट्रिय शिक्षा दिवस अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मनाउनु उपयुक्त नभएको भन्दै नयाँ मिति निर्णय नहुन्जेलका लागि भनेर २०७६ देखि २०७० सालसम्म शिक्षा दिवस मनाइएन । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७६ जारी भएको मितिका आधारमा असोज २ गते शिक्षा दिवस मनाउने निर्णय भएपछि पदक वितरणको पनि निर्णय गरिएको थियो ।

नेपाल विद्याभूषण (क, ख र ग), नेपाल प्रविधि विद्याभूषण तथा नेपाल छात्रा विद्यापदक (क र ख) बाट पुरस्कृत हुनेको नामावली सार्वजनिक गरिएको थियो । विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट, स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ख’ बाट, स्नातक तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ग’, स्नातक तहमा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘क’ बाट, कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट र प्राविधिक शिक्षामा स्नातक वा सोभन्दा माथि सर्वोत्कृष्ट हुनेलाई नेपाल प्रविधि विद्याभूषणबाट पुरस्कृत गर्ने व्यवस्था छ । नेपाल प्रविधि विद्याभूषण गत वर्षबाट नयाँ थपिएको हो र कृषि, पशु विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ, वन विज्ञान एवं विज्ञान तथा प्रविधि विषयमा सर्वोत्कृष्ट हुनेलाई यो पुरस्कार उपलब्ध गराइन्छ । 

नेपाल विद्याभूषण ‘क’ ७९१ जनालाई, नेपाल विद्याभूषण ‘ख’ ७१ जनालाई, नेपाल विद्याभूषण ‘ग’ ४४ जनालाई, नेपाल छात्रा विद्यापदक ‘क’ २८ जनालाई, नेपाल छात्रा विद्यापदक ‘ख’ १८ जनालाई र नेपाल प्रविधि विद्याभूषण ११ जनालाई प्रदान गर्न नाम घोषणा गरिएको थियो ।

गत वर्ष घरेलु कार्यालयले प्रतिशिक्षा पदक तयार गर्दा दुई हजार पाँच सय रुपियाँ ज्याला लाग्ने जानकारी दिएको थियो । त्यस्तै प्रतिपदक १५ देखि २२ हजार रुपियाँ खर्च लाग्ने अनुमानित लागत दिइएको थियो । 

नेपाल विद्याभूषण ‘क’ मा ४२ ग्राम शुद्ध चाँदी, नेपाल विद्याभूषण ‘ख’ मा ३१ ग्राम शुद्ध चाँदी, नेपाल विद्याभूषण ‘ग’ मा २२ ग्राम शुद्ध चाँदी, नेपाल छात्रा विद्यापदक ‘क’ मा ३) ग्राम शुद्ध चाँदी, नेपाल छात्रा विद्यापदक ‘ख’ मा ३) ग्राम शुद्ध चाँदी र नेपाल प्रविधि विद्याभूषणमा ३१ ग्राम शुद्ध चाँदी प्रयोग हुन्छ भने सबै पदकमा एक ग्राम सुन लेपन गरिने कार्यविधिमा नै उल्लेख छ ।

मन्त्रालयका अनुसार यसअघि नेपाल विद्याभूषण ‘क’ तीन हजार ६६४ जनाले, नेपाल विद्याभूषण ‘ख’ एक हजार ९६० जनाले, नेपाल विद्याभूषण ‘ग’ एक हजार २१९ जनाले, नेपाल छात्रा विद्यापदक ‘क’ ५१७ जनाले र नेपाल छात्रा विद्यापदक ‘ख’ ३३५ जनाले पाइसकेका छन् ।

Select college / campus