एसईई सञ्चालनको जिम्मेवारी प्रदेशलाई हस्तान्तरण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव

एसईई सञ्चालनको जिम्मेवारी प्रदेशलाई हस्तान्तरण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव अगाडि सारेको छ । प्रस्ताव मन्त्रिपरिषद्मा पुर्याइएको छ । 

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको अन्तरक्रियामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशनसम्मको जिम्मेवारी प्रदेश शिक्षा निर्देशनालयलाई हस्तान्तरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको जानकारी दिए ।

“परीक्षा खारेज गर्नु हुँदैन” उनले भने, “परीक्षाको सबै अधिकार प्रदेशस्तरलाई दिइनेछ । पहिले देशभरिको नतिजा एकैपटक सार्वजनिक हुन्थ्यो । तर अब प्रस्ताव स्वीकृत भएपछि जुन प्रदेशले छिटो उत्तरपुस्तिका परीक्षणको काम सक्छ उसले पहिले नतिजा सार्वजनिक गर्न सक्नेछ । प्रदेशले आआफ्नै अनुकूलअनुसार नतिजा सार्वजनिक गर्नसक्नेछन् ।”

उनका अनुसार प्रदेशले नतिजा सार्वजनिक गरेपछि त्यसलाई बोर्डमा पठाउनुपर्ने हुन्छ र बोर्डले नतिजालाई प्रमाणीकरण गर्नेछ ।

बोर्डले यस वर्षको एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । फागुन र चैत महिनामा पठनपाठन हुँदा कोर्स पूरा हुनसक्ने सुझाव जिल्लाहरुबाट प्राप्त भएको बताउँदै तिनै सुझावका आधारमा वैशाखमा परीक्षा सञ्चालनको निर्णय गरिएको बताए ।

बोर्डका अध्यक्ष डा. शर्माले गत वर्षको प्रश्नपत्र सुरक्षित रहेको र त्यसलाई के गर्ने भन्ने बारेमा अझै निर्णय नभएको बताउँदै भने, “हामीसँग प्रश्नपत्रको बैँक छ । त्यही बैँक प्रदेशलाई हस्तान्तरण गर्नेछौँ । त्यसैले प्रश्नपत्र तयारीमा खासै समस्या रहँदैन ।”

उनले भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्ने बताउँदै त्यो बेला कोरोना सङ्क्रमणको अवस्था बढेमा त्यहीअनुसार नयाँ विधि प्रयोग गर्नसकिने बताए ।

उनले कक्षा १२ को परीक्षा तालिका केही दिनमा सार्वजनिक गरिने जानकारी दिए ।