त्रिविको दीक्षान्त समारोहमा भाग लिन १९ प्रतिशतको मात्र आवेदन !

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा यसपटक ७९ हजार १९१ विद्यार्थी दीक्षित हुन योग्य भएका छन्। आगामी पुस १० गते आयोजना हुने समारोहमा सहभागी हुन भने करिब १७ हजार विद्यार्थीले मात्र आवेदन दिएका छन्। यो सङ्ख्या दीक्षित हुन योग्य विद्यार्थीको करिब १९ प्रतिशत हो।
गत वर्ष दीक्षित हुन योग्य ७२ हजार विद्यार्थीमध्ये करिब १४ हजारले मात्र दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका थिए।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालका अनुसार आफू उपकुलपति बनेपछि विश्वविद्यालयमा अनुकूल वातावरणमा निर्वाध रूपमा काम गर्ने अवसर मिलिरहेको छ।
अगामी महिनामा हुने ५१ औँ दीक्षान्त समारोहकोलागि ग्रेसलिस्ट त्रिवि सभाले पास गरिसकेको छ । विद्यार्थीले सबै परीक्षा पास गरी दीक्षित हुन योग्य भए पनि शैक्षिक योग्यताको प्रमाणपत्र लिनमा खासै रुचि नदेखिएको उनको भनाइ छ ।
‘त्रिविको इतिहासमा यस पटक हामीले दीक्षान्त समारोहमा जापानको टोकियो विश्वविद्यालयका नोवेल पुरस्कार विजेता वैज्ञानिकलाई दीक्षान्त भाषण गर्न निम्त्याउने पक्का गरेका छौं । यो हाम्रो विश्वविद्यालयको गौरवको विषय हो,’ उपकुलपति अर्यालले नागरिकसँगको भेटमा भने, ‘तर हाम्रो विश्वविद्यालयमा दीक्षान्तमा सहभागी हुने योग्य मध्ये १९ प्रतिशत मुस्किलले सहभागिता जनाउनुले राम्रो सन्देश दिँदैन ।’
‘विश्वभरिका विश्वविद्यालयहरुमा शैक्षिक योथ्यताको प्रमाणपत्र लिन विद्यार्थी मात्र होइन तिनका अभिभावक पनि सहभागिता जनाउने गरेको पाइन्छ । हामी कहाँ दीक्षान्तको महत्व नबुझेको र विश्वविद्यालयले बुझाउन नसकेको कारण पनि विद्यार्थीको रुचि कम देखिन्छ’, उनले भने ।