Bachelors Portal

शिक्षा मन्त्रीसंग सातै प्रदेशका सामाजिक विकास मन्त्रीको अनलाइन बैठक, के के भयो कुरा ?

सातै प्रदेशका सामाजिक विकास मन्त्रीसंग शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनलाइन बैठक गरेका छन् ।

बैठकमा प्रदेशका सामाजिक विकास मन्त्रीहरुले एसईई, कक्षा ११ र १२ को परीक्षा सन्दर्भमा कुरा उठाएका थिए ।

एसईई, कक्षा ११ र १२ का विद्यार्थीलाई मध्यनजर गर्दै सरकारले घरमै बसेर अध्ययन गर्न सकिने व्यवस्था मिलाउने तयारी थालेको छ ।

कोरोना भाईरस (कोभिड–१९) लाई मध्यनजर गर्दै घरमै बसेर अध्ययन गर्न सकिने व्यवस्था मिलाउने तयारी थालेको हो । त्यसका लागि सरकारले खुला विश्वविद्यालयका उपकुलपति प्रा.लेखनाथ शर्माको संयोजकत्वमा ‘शिक्षा, शिक्षण विधि र विकल्प थेमेटिक कमिटि’ गठन गरेको छ । यो कमिटिले समग्र शिक्षा र शिक्षण विधिको वैकल्पिक व्यवस्थाबारे सुझाव पेश गर्नेछ । 

टेलिभिजन, रेडियो, एफएमसमेत वैकल्पिक शिक्षाको माध्यममा उपयोग गर्नेबारे सुझावमा समेटिने जनाइएको छ ।  यसैविच, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग छलफल गरेका छन् ।  

शिक्षा मन्त्री पोखरेलले सामाजिक विकास मन्त्रीहरुसंगको छलफलमा शिक्षा मन्त्रालयले लकडाउन खुलेको तेस्रो हप्ताबाट स्थगित परीक्षाहरू लिन सक्ने वातावरणको तयारी गर्ने सोच अघि बढाएको बताएका थिए ।

स्थगित परीक्षा आगामी जेठभित्र लिन सके शैक्षिक सत्र निरन्तर रहने सरकारले बताएको छ । प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र ११ वटा विश्वविद्यालयको परीक्षासमेत स्थगित भएका छन् ।

सम्पन्न भएका परीक्षाको नतिजा लकडाउन खुलेपश्चात्  एक हप्ताभित्र प्रकाशन गरिसक्ने र नतिजा प्रकाशन भएको अर्को हप्ता विद्यालयहरूले नयाँ सत्रको निम्ति विद्यार्थी भर्ना थाल्ने सरकारको योजना छ ।

Thuprai - Books and E-books