नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति  विहीन

नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति  विहीन भएको छ ।

उपकुलपति प्राडा यादवप्रसाद लामिछानेको राजिनामा स्वीकृत भएसंगै विश्वविद्यालय उपकुलपति विहीन भएको हो । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिको राजिनामा स्वीकृत गरेसंगै विश्वविद्यालय उपकुलपति विहीन भएको छ ।

विश्वविद्यालयमा देखिएको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न भन्दै उपकुलपति लामिछानेले साउन २७ गते विश्वविद्यालयका कुलपति समक्ष पेस गरेको राजिनामा स्वीकृत भएको छ ।

उपकुलपति लामिछानेले दिएको राजीनामा भदौनै स्वीकृत भएको प्रधानमन्त्रको सचिवालयले जानकारी दियो ।

कुलपति समक्ष विभिन्न समयमा विश्वविद्यालयमा देखिएका समस्याका सम्बन्धमा छलफल गर्दा पनि  समाधानको बाटो नदेखिएपछि उपकुलपतिले राजिनामा दिएको उनले बताए ।

गत साउन २६ गते कुलपतिसंगको भेटमा विश्वविद्यालयको वर्तमान अवस्थाका बारेमा  जानकारी गराएपछि २७ गते  व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राख्दै राजीनामा दिएको उपकुलपति लामिछानेले बताए । ‘सम्पत्ति छानविनका लागि खोजी गर्न समिति गठन भयो,१२ वर्ष सम्म रोकिएको दीक्षान्त समारोह भयो ।’ उनले भने, ‘विश्वविद्यालयमा  पदाधिकारीले कार्यकारी समितिको निर्णय नमान्ने अवस्था छ ।’

उपकुलपति लामिछाने र कुलसचिव माधव अधिकारीबिच केही समयदेखि विवाद चर्किँदै  गएको थियो ।  विश्वविद्यालयमा कार्यरत कर्मचारी बढुवा तथा नियुक्त गर्ने विषयमा उपकुलपति लामिछाने र कुलसचिव  विचको द्वन्द्व सतहमा आएको थियो ।

सो विवाद सतहमा आएपछि उपकुलपतिले कुलसचिव अधिकारीलाई  गत असार २७ गते पदबाट समेत हटाएका थिए । उपकुलपतिले दवावका कारण गत साउन १६ कुल सचिवको निलम्बन फुकुवा गरेका थिए ।

कुलसचिव अधिकारीलाई पदीय दायित्व पूरा नगरेको, कार्यकारीको निर्णय नमानेको लगायतका करण देखाउँदै निलम्बन गरेका थिए । तर कुल सचिव अधिकारी निलम्बनको औचित्य पुष्टि नभएको भन्दै विश्वविद्यालयको जिम्मेवारीमा फर्किएका थिएनन ।