After SEE Portal

विद्यालय भवन निर्माणमा लापरवाही, बजेट आएर पनि काम भएन

Bridge Course

सुमन मल्ल, मुगु – खत्याड गाउँपालिका १० ह्याँग्लुमा रहेको महादेव माविको निर्माणाधीन दुई तले भवन एक वर्षदेखि अलपत्र छ। आर्थिक वर्ष २०७४/०७५ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयसँग विज्ञान भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिले सम्झौता गरेको थियो।

२०७४ सालको चैत्रमा विज्ञान भवनको जग हाल्ने काम भए पनि हालसम्म कुनै काम अघि बढ्न सकेको छैन। १२ कोठे भवनको जग हालिए पनि बाँकी काम अलपत्र छ। विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष चन्द्रबहादुर बुढाले खर्चको हिसाबकिताब दिन नसकेको विद्यालयले जनाएको छ।

भवनका लागि पहिलो चरणमा कार्यालयले १८ लाख भुक्तानी पठाएको र बाँकी १८ लाख भवन निर्माणसम्बन्धी गरिएको सम्झौता खत्याड गाउँपालिकालाई पठाइएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुर्यबहादुर खत्रीले जानकारी दिए। 

पहिलो किस्ताको १८ लाख तत्कालीन शिक्षा कार्यालयले विद्यालयलाई पठाएको जनाए पनि तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षले १४ लाख ४० हजार रकम आएको र सबै खर्च भइसकेको बताउने गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर रोकायाले बताए।

भवन अलपत्र परेपछि गाउँपालिका र शिक्षा कार्यालय कसले हेर्ने भन्ने विषयमा पनि अन्यौल रहेको प्रधानाध्यापक रोकायाको भनाई छ। मावि ह्याँग्लु, आधारभुत विद्यालय रिगा र लुईमा विद्यालय भवन अलपत्र परेको विषयमा प्राविधिक खटाउने तथा बाँकी रहेको कामको विषयमा छलफल गरिने खत्याड गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीले बताए।

पहिले जिल्ला शिक्षा कार्यालयले योजना हेरेको तथा स्थानीय तहको निर्वाचनपछि शिक्षा कार्यालय स्थानीय तहमा गाभिए पनि कामको जिम्मेवारी नतोकिँदा समस्या आएको गाउँपालिकाले जनाएको छ।

A Levels MA
Thuprai - Books and E-books