मोफसलका विश्वविद्यालय जथाभावी धमाधम सम्बन्धन वितरण गर्दै

मुलुकका कुनै कुनाका कलेजले स्नातक वा स्नातकोत्तर तहको सजिलैसँग सम्बन्धन लिनु छ ?  उसो भए तनाउ नलिनुस् । मोफसलका विश्वविद्यालयमा सम्पर्क राख्नुहोला, सजिलै सम्बन्धन पाउन सक्नुहुनेछ ।

यतिबेला मोफसलका विश्वविद्यालयहरूले जथाभावी धमाधम सम्बन्धन वितरण गर्ने गरेको पाइएको छ । सम्बन्धित क्षेत्रको शैक्षिक उन्नयनका लागि भनेर प्रदेशमा सञ्चालित विश्वविद्यालयले सङ्घीय राजधानी काठमाडौँका कलेजलाई समेत सम्बन्धन दिन थालेका छन् । यसमा मोटो रकमको चलखल हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो समयमा सुदूरपश्चिम विश्वविद्यालय र राजर्षीजनक विश्वविद्यालयले काठमाडौँका कलेजलाई समेत जथाभावी सम्बन्धन बाँडेको तथ्य सार्वजनिक भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयले सुर्खेत, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, पोखरादेखि काठमाडौँ उपत्यका, सिरहा, जनकपुर, वीरगन्ज, महोत्तरीसम्म सम्बन्धन बाँडेको छ । सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालय छ तर त्यहाँका तीन वटा कलेजले बिबिए र एमबिए सञ्चालनका लागि सम्बन्धन लिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयले टाढासम्म सम्बन्धन बाँड्ने काम गरे भनेर कुनै बेला टिप्पणी गर्ने गरिन्थ्यो । तर अब त्यस्तो रहेन । कञ्चनपुरको विश्वविद्यालयले ताप्लेजुङको कलेजलाई सम्बन्धन दिनु हुँदैन भन्ने हुँदै होइन तर सुदूरपश्चिम विश्वविद्यालयको बिबिए र एमबिएमा त्यस्तो चमत्कार के छ जसले गर्दा त्यति टाढाका कलेजले सम्बन्धनका लागि मरिहत्ते गर्ने गरेका छन् भन्ने बारेमा सर्वत्र चासो र जिज्ञाशा सुरु भएको छ ।

यतिबेला नेपालका पुराना विश्वविद्यालयले विद्यार्थीको सङ्कट भोगी रहेका छन् । विद्यार्थीको लर्को विदेश जानेतर्फ भएपछि नेपालका विश्वविद्यालय र कलेजमा विद्यार्थी सङ्ख्या ठ्याम्मै अभाव छ । यस्तो परिस्थितिमा सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन लिएका ३२ कलेजले कसरी विद्यार्थी पर्याप्त प्राप्त गर्न सक्छन् र कुन गुणस्तरमा अध्यापन गर्न सक्छन् भन्ने पनि शैक्षिक वृत्तमा यतिबेला चर्चा सुरु भएको छ ।

राजर्षीजनक विश्वविद्यालयमा विद्यार्थी मुस्किलले दुई सय छन् तर उसले पनि धमाधम सम्बन्धन बाँडिरहेको छ । ललितपुरको गोदावरीमा रहेको एक शिक्षण संस्थालाई पनि आफ्नो शैक्षिक कार्यक्रम सञ्चालन गर्न राजर्षीजनक विश्वविद्यालयले सम्बन्धन दिएको पाइएको छ ।

बौद्ध अध्ययनका लागि भनेर स्थापना गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले कुनै बेला इन्जिनियरिङ विषय अध्यापनका लागि पनि सम्बन्धन दिँदा निकै विरोध र चर्चा भएको थियो ।