वाल्मीकि विद्यापीठ वास्तु शास्त्रमा आधुनिक इन्जिनीयरिङ कक्षा सञ्चालन गरिने

वाल्मीकि विद्यापीठ वास्तु शास्त्रमा आधुनिक इन्जिनीयरिङ कक्षा सञ्चालन गरिने

आगामी शैक्षिक सत्रदेखि वाल्मीकि विद्यापीठमा वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयले वास्तु शास्त्रलाई आधुनिक इन्जिनीयरिङमा एकीकृत गर्दै स्नातक तहको अध्यापन गर्न लागेको हो ।

आधुनिक इन्जिनीयरिङमा प्राचीन स्थापत्य विधा समावेश गरेर अध्ययन, अनुसन्धान गराउन लागिएको विश्वविद्यालयले जानकारी दियो ।

यसका लागि विश्वविद्यालयले स्थापत्य अध्ययन संस्थान नै स्थापना गरेको छ । विश्वविद्यालय प्राज्ञिक परिषद्ले हालै यस विषयको पाठ्यक्रम स्वीकृत गरेको संस्थानका डीन वीरेन्द्र खड्काले जानकारी दिए ।

यसका लागि विश्वविद्यालयले विगत तीन वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । यस वर्ष पनि यस कार्यक्रमलाई रु चार करोड बजेट विनियोजन गरिएको उनले सुनाए ।

विज्ञान विषय लिएर दश जोड दुई उत्तीर्ण गरेकाले यस विषयमा अध्ययन गर्न पाउने छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको दाङमा वास्तु शास्त्रसम्मत भवनको निर्माण गरी वास्तुसम्बन्धी अध्ययन अध्यापनका लागि विस्तार गर्ने योजना रहेको छ ।

वास्तुको अध्यापनका लागि भौतिक संरचना निर्माणलाई पनि विश्वविद्यालयले प्राथमिकता दिने भएको छ । स्थापत्य वेद चार उपवेदमध्येको एक हो । प्राचीन कालमा यसैका आधारमा पशुपतिनाथलगायत मन्दिरको निर्माण भएको थियो । हाँडीगाउँ क्षेत्रका मठ मन्दिर पनि वास्तु नियमलाई पालना गरेर निर्माण गरिएको हो ।

वास्तुका नियम बिर्सन लागेकाले विश्वविद्यालयमा औपचारिक अध्ययन अध्यापन गरी यसको संरक्षण र प्रवद्र्धनमा काम गर्न लागिएको डीन खड्काले जानकारी दिए । पश्चिमी देशका मानिस पछिल्लो समय वास्तुका नियममा बढी आकर्षित भएका छन् । विश्वविद्यालयले हालै अमेरिकाको महर्षि विश्वविद्यालयसँग सम्झौता गरी नेपालमा वास्तुको अध्ययन, अनुसन्धानमा सहकार्य गर्ने बाटो खोलेको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनको संयोजनमा यो सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।