
त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा लागू हुँदै आएको दोहोरो ब्यारियर प्रणाली न्यायोचित, कानुनी तथा विद्यार्थी–हितैषी नभएको भन्दै एम् बिबि एस् र बिडि एस् कार्यक्रमका विद्यार्थीहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। विद्यार्थीहरूले हाल प्रचलित ब्यारियर प्रणाली कानुनी रूपमा अस्पष्ट, आपसमा विरोधाभासी र व्यवहारमा असमान रूपमा लागू भइरहेको आरोप लगाउँदै ज्ञापनपत्रमार्फत तत्काल सुधारको माग गरेका हुन्।
विद्यार्थीहरूका अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा हाल लागू गरिएको तथाकथित पहिलो चरण ब्यारियरका कारण करिब तीन वर्षमै विद्यार्थीको भर्ना स्वतः रद्द हुने अवस्था सिर्जना भएको छ, जुन नेपालका अन्य विश्वविद्यालयहरूमा प्रचलित छैन। छिमेकी मुलुक भारतमा सन् २०२३ देखि National Medical Commission (Undergraduate Medical Education Board) ले सबै मेडिकल कलेजहरूका लागि एम् बिबि एस् अध्ययन अधिकतम १० वर्षसम्म पूरा गर्न सकिने एकरूप ब्यारियर प्रणाली लागू गरिसकेको स्मरण गराइएको छ। त्यसैगरी संयुक्त अधिराज्य (United Kingdom) मा पनि प्रारम्भिक भर्ना मितिदेखि ९ वर्षसम्म अध्ययन अवधि प्रदान गरिएको उदाहरण दिइएको छ।
तर त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा लागू हालको व्यवस्थाका कारण अहिलेसम्म करिब एक हजारभन्दा बढी विद्यार्थीको शैक्षिक भविष्य, मानसिक स्वास्थ्य र पेशागत यात्रामा गम्भीर नकारात्मक असर परेको विद्यार्थीहरूको दाबी छ। यस क्रममा केही विद्यार्थीहरूले आत्महत्या गर्नुपरेको दुखद अवस्था देखिएको तथा धेरै विद्यार्थी गहिरो मानसिक तनाव र डिप्रेसनमा रहेको उल्लेख गरिएको छ।
विदेशी विद्यार्थीहरू गम्भीर समस्यामा
ज्ञापनपत्रमा विदेशी विद्यार्थीहरूको अवस्था झन् गम्भीर रहेको उल्लेख गरिएको छ। भर्नाका समयमा ब्यारियर प्रणालीबारे स्पष्ट जानकारी नदिइएकाले धेरै विदेशी विद्यार्थीहरूले आफू शैक्षिक रूपमा ठगिएको महसुस गरिरहेको विद्यार्थीहरूको भनाइ छ। यही कारणले ६–८ महिनाभित्रै कलेज छोड्न बाध्य भएका उदाहरणहरू रहेको र यसले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पारेको उल्लेख छ।
विद्यार्थीहरूका अनुसार विगतमा १०० भन्दा बढी विदेशी विद्यार्थीबाट पाँच वर्षे पूरा कोर्सको नाममा एक करोड रुपैयाँभन्दा बढी शुल्क असुली गरी उनीहरूको भर्ना दुई वर्षमै रद्द गरिएको थियो। कलेजलाई घाटा हुने बहानामा ती विद्यार्थीहरूलाई एक पैसा पनि फिर्ता नगरिएको आरोप पनि ज्ञापनपत्रमा गरिएको छ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा एकैसाथ लागू दुई प्रकारका ब्यारियर
विद्यार्थीहरूले एकैसाथ दुई प्रकारका ब्यारियर लागू गरिएको बताएका छन्।पहिलो ब्यारियर, २०४८ सालको विधा परिषद्को निर्णय (निर्णय नं. ३९८, मिति २०४८/१२/१८) अनुसार पहिलो चरण अर्थात् पहिलो र दोस्रो वर्ष उत्तीर्ण नगरी दोस्रो चरणमा प्रवेश गर्न नपाइने, पहिलो चरणका सबै विषय चार पटकभित्र उत्तीर्ण गर्नुपर्ने र चार पटकभित्र पनि उत्तीर्ण नगरेमा एम् बिबि एस्को भर्ना नै रद्द हुने व्यवस्था छ। यसले करिब ३.५ वर्षभित्रै विद्यार्थीको भर्ना स्वतः रद्द हुने अवस्था सिर्जना गरेको विद्यार्थीहरूको भनाइ छ।
दोस्रो ब्यारियर भने त्रिभुवन विश्वविद्यालय परीक्षा व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७२ (दफा ३.६.१५) मा आधारित रहेको छ। उक्त कार्यविधिअनुसार वार्षिक परीक्षाको हकमा अध्ययन गरिएको कुल शैक्षिक अवधिमा थप चार वर्षसहितको समयभित्र सबै विषय उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ, जसले एम् बिबि एस्का लागि अधिकतम १० वर्षसम्मको अवसर प्रदान गरेको स्पष्ट उल्लेख गरिएको छ। तर यो व्यवस्था व्यवहारमा लागू नभएको विद्यार्थीहरूको आरोप छ।
कानुनी अस्पष्टता र अधिकारको प्रश्न
ज्ञापनपत्रमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को उल्लङ्घन गरेको दाबी गरिएको छ। नियम २१७ अनुसार परीक्षा नियन्त्रण कार्यालयद्वारा सूचना प्रकाशित गरी तोकिएको म्यादभित्र परीक्षा फाराम भरेका परीक्षार्थीहरू परीक्षा दिन अनुपस्थित भए वा अनुत्तीर्ण भए तापनि सम्बन्धित तहको दोस्रो चरण कक्षामा प्रवेश पाउन योग्य हुने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।
तर व्यवहारमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले प्रत्येक वर्ष करिब ५००–७०० विद्यार्थीलाई २०४८ सालको विधा परिषद्को निर्णयका आधारमा दोस्रो वर्षबाट तेस्रो वर्षमा प्रवेश गर्न रोक लगाउँदै आएको विद्यार्थीहरूको भनाई छ।
त्रिभुवन विश्वविद्यालय ऐनको परिच्छेद–४१ तथा धारा १३६ (घ) ले विधा परिषद्लाई एक शैक्षिक खण्डबाट अर्कोमा प्रवेशका लागि आवश्यक योग्यता निर्धारण गर्ने अधिकार दिएको भए पनि विद्यार्थीको भर्ना नै रद्द गर्ने अधिकार नदिएको विद्यार्थीहरूले बताएका छन्।
त्यसैगरी, कार्यकारी परिषद्ले परिच्छेद ८९ तथा दफा ३९७ ले प्रदान गरेको अधिकार प्रयोग गरी २०७२ को परीक्षा व्यवस्थापन कार्यविधिमा अधिकतम समयसीमा तोकिए पनि उक्त व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा लागू नभएको र पुरानो तथा नयाँ ब्यािरयर एकैसाथ लागू हुनु अवैधानिक र अन्यायपूर्ण रहेको दाबी गरिएको छ।
विद्यार्थीहरूको आठबुँदे समाधान प्रस्ताव
विद्यार्थीहरूले ब्यारियर प्रणाली पूर्ण रूपमा नीतिगत र व्यवस्थापकीय विवेकाधीन विषय भएको उल्लेख गर्दै भविष्य समाप्त नगरी अन्तर्राष्ट्रिय मापदण्डअनुकूल सुधार आवश्यक रहेको बताएका छन्। ज्ञापनपत्रमा आठबुँदे समाधान प्रस्ताव प्रस्तुत गरिएको छ।
उनीहरूले २०७२ को परीक्षा व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार एक मात्र स्पष्ट र कानुनी ब्यारियर प्रणाली लागू गर्न, २०४८ सालको विधा परिषद्को पुरानो निर्णय औपचारिक रूपमा खारेज गर्न र काठमाडौं विश्वविद्यालयमा लागु वैज्ञानिक, न्यायोचित तथा विद्यार्थी–मैत्री ब्यारियर प्रणाली त्रिभुवन विश्वविद्यालयमा पनि लागू गर्न माग गरेका छन्।
त्यसैगरी, हाल दोस्रो वर्षमा लागू गरिएको 'Year–Drop' व्यवस्था हटाई काठमाडौं विश्वविद्यालयमा जस्तै अन्तिम वर्षमा मात्र ब्यारियर लागु गर्न, पहिलो वर्षका लागि आठ पटक र दोस्रो वर्षका लागि छ पटक परीक्षा अवसर सुनिश्चित गर्न तथा पहिलो चरणमा अनुत्तीर्ण भए पनि विद्यार्थीको भर्ना रद्द नहुने स्पष्ट नीति लागू गर्न माग गरिएको छ।
विद्यार्थीहरूले विगत पाँच वर्षको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना तथ्यांकअनुसार काठमाडौं विश्वविद्यालय पहिलो रोजाइमा पर्दै आएको उल्लेख गर्दै त्रिविको अन्तर्राष्ट्रिय आकर्षण र प्रतिष्ठा क्रमशः खस्कँदै गएको चेतावनी पनि दिएका छन्। अन्तर्राष्ट्रिय प्रतिष्ठा पुनःस्थापना गर्न वैज्ञानिक, न्यायिक र विद्यार्थी–मैत्री शैक्षिक प्रणाली अवलम्बन गर्न उनीहरूको आग्रह छ।
विद्यार्थीहरूले कुनै विशेष सुविधा होइन, न्याय, समानता र कानुनी स्पष्टता मात्र माग गरेको उल्लेख गर्दै शीघ्र सकारात्मक निर्णय र आवश्यक निर्देशन तथा पहलको अपेक्षा व्यक्त गरेका छन्।




